तनहुँ । चैत ९
भिमाद नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुबाट आ.व. ०८२/०८३ मा सम्पादित समग्र स्वास्थ्य कार्यक्रमहरुको अर्धबार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ ।



नगर प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा सप्पन्न भएको उक्त गोष्ठिमा उप–प्रमुख शारदा खनाल, उप–सचिव सन्दिप पौडेल, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँको खोप अधिकृत शंकरबाबु अधिकारी, तथ्याङ्क अधिकृत टिकाराम शर्मा, लेखा अधिकृत नारायण पौडेल, शाखा प्रमुखहरु, स्वास्थ्यकर्मीहरु तथा विद्यालय नर्सहरुको सहभागिता रहेको थियो ।
आ.व.२०८२/०८३ को अर्धवार्षिक अवधिमा आ–आफ्नो स्वास्थ्य संस्थाहरुबाट प्रवाह गरिएको स्वास्थ्य सेवाहरुको प्रस्तुतीकरण र विद्यालय नर्सबाट प्रवाह गरीएको सेवाहरुको प्रस्तुतीकरण पश्चात नगरपालिकाको समग्र स्वास्थ्य सूचकको वर्तमान अवस्था, पालिकास्तरबाट भएका नविनतम प्रयासहरु, कार्यसम्पादनमा आएका समस्या तथा समाधानका उपायहरु लगायत आगामी दिनको कार्ययोजनाको बारेमा स्वास्थ्य शाखा प्रमुख सुनिता धरेलले प्रस्तुतीकरण गरेकी थिइन् ।
उक्त अवसरमा तिन सदस्यीय मूल्याङ्कन समिति गठन गरी छनौटका विभिन्न मापदण्डमा रहेर आ.व. २०८१/०८२ मा उत्कृष्ट कार्यसम्पादन गर्ने स्वास्थ्यकर्मीहरु र स्वास्थ्य संस्थालाई सम्मान समेत गरिएको थियो । सम्मानित हुने स्वास्थ्यकर्मीहरुमा भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत मेडिकल अधिकृत डा.सुदन अधिकारी, सिम्ले सामुदायिक स्वास्थ्य ईकाईमा कार्यरत अ.हे.व. अनिल ज्ञवाली, भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत अ.न.मी. इनिसरा गाहा, तुरतुरे सामुदायिक स्वास्थ्य ईकाईका कार्यरत अ.न.मी. कल्पना थापा र भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत कार्यालय सहयोगी निम बहादुर दरै रहेका छन् । त्यस्तै उत्कृष्ट स्वास्थ्य संस्था तर्फ माझकोट स्वास्थ्य चौकी, भिमाद–४ रहेको छ ।












