तनहुँ । चैत २६
तनहुँ क्षेत्र नम्बर २ का सांसद श्रीराम न्यौपानेले आफ्नो निर्वाचन क्षेत्रको योजना छनौट गर्न योजना बैंकको अवधारणा ल्याएका छन् । यसले जनताका वास्तविक समस्या पहिचान गर्न, आयोजना तयार पार्न, सम्बन्धित निकायहरूमा प्रभावकारी समन्वय गर्न, आवश्यक परेको खण्डमा संसदमा सशक्त रूपमा आवाज उठाउन तथा नीति, ऐन र कानुन निर्माणमार्फत दीर्घकालीन समाधान खोज्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको छ ।




चुनावका बेला गरेका प्रतिबद्धताहरूलाई व्यवहारमा उतार्ने उद्देश्यसहित हरेक तीन महिनामा जनसंवाद गर्ने अभ्यास अनुरूप सांसद न्यौपानेले चैत २३ गते घिरिङ गाउँपालिका र २४ गते रिसिङ गाउँपालिकामा सांसद–जनसंवाद कार्यक्रम आयोजना गरेका छन् । अन्य पालिकाहरुमा अव बैशाख पहिलो साताबाट उक्त कार्यक्रम आयोजना गर्ने सांसद न्यौपानेले बताए ।
उक्त जनसंवाद कार्यक्रममा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु, समाजका अगुवा, बुद्धिजीवी तथा आम नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । दुबै पालिकामा प्रत्यक्ष रूपमा जनताका समस्या, गुनासा तथा बहुमूल्य सुझावहरू सुन्ने अवसर प्राप्त भएको भन्दै सांसद न्यौपानेले भने ‘संघीय सांसदको हैसियतमा निर्वाचित भएपछिका मेरा इमानदार प्रयासहरू र सरकारद्वारा सम्पन्न भएका महत्वपूर्ण कार्यहरूको जानकारी पनि आदान–प्रदान गरियो ।’

‘चुनावपछि नेता हराउँछन्’ भन्ने जनगुनासोलाई अन्त्य गर्ने दृढ संकल्पका साथ सुरु गरिएको यो जनसंवाद कार्यक्रममार्फत जनता र जनप्रतिनिधिबीच निरन्तर भेटघाट र सहकार्यको वातावरण निर्माण हुने विश्वास लिएको न्यौपानेले बताए । जनताको सक्रिय सहभागितामा, जनताकै घरदैलोमा बसेर तयार पारिने योजना र आयोजना बैंकले उन्नत र उत्तरदायी लोकतन्त्रको अभ्यासलाई अझ सुदृढ बनाउनेमा पूर्ण विश्वास लिएको सांसद न्यौपानेले बताए ।
ज्नसंवाद कार्यक्रममा पालिकाका जनप्रतिनिधि र सर्वसाधरणले पहुँचका आधारमा भन्दा आवश्यकताका आधारमा बजेट विनियोजन हुनुपर्नेमा जोड दिएका छन् । घिरिङ गाउँपालिकाका निवर्तमान अध्यक्ष रनबहादुर रानाले कृष्णमोटर मार्गको दयनीय अवस्थाले गर्दा सुत्केरी र बिरामीले अकालमा ज्यान गुमाउनुपर्ने अवस्था रहेको गुनासो गरे । सडककै कारण गाउँको सामाजिक सम्बन्ध समेत टाढिँदै गएको भन्दै रानाले अब पहुँचको कारणले नभई आवश्यकता हेरेर सडक स्तरोन्नति हुनुपर्ने बताए ।

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले सांसद न्यौपाने समक्ष गाउँपालिकाका प्रस्तावित योजनाहरुको सुचि बुझाउँदै उक्त सुचिलाई प्राथमिकताका साथ कार्यान्वयन हुनेमा आशाबादी रहेको बताए ।
जनताका माग र लिखित सुझाव बुझ्दै सांसद न्यौपानेले प्राप्त योजनाहरूलाई प्राविधिक रूपमा अध्ययन गरी ‘योजना बैँक’ मा सूचीकृत गरिने बताए । जनसंवादमा कृषि आधुनिकीकरण, खानेपानी, सिँचाइ र तटबन्धका योजनाहरू स्थानीयले लिखित रूपमा पेस गरेका थिए ।












