तनहुँ । बैशाख १६
जिल्ला प्रशासन कार्यालय तनहुँले मौसमजन्य विपद्बाट जोगिन सर्वसाधरणमा अनुरोध गरेको छ । जल तथा मौसम विज्ञान विभागले गरेको मौसमको पूर्वानुमान अनुसार वैशाख १६ गते बुधबार तनहुँ जिल्लामा समेत तिब्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको र विभागको उक्त अनुमान अनुसार वैशाख १६ गते बुधबार अपरान्ह ४ः०० बजे हावाहुरी सुरु भई वैशाख १७ गते विहिबार बिहान ६ः४५ बजेसम्म रहने अनुमान गरिएको गरिएको भन्दै जिल्ला प्रशासन कार्यालयले उक्त हावाहुरीको समयमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी, असिना सहित पानी पर्ने सम्भवाना रहेकोलेर हावाहुरीको कारण रुख ढल्ने, कमजोर संरचना ढल्ने, छाना उड्ने, विद्युत तथा सन्चार सेवा प्रभावित हुने जोखिम रहेको जनाएको छ ।



उक्त अवधिमा सबै जिल्लाबासीहरुले पूर्वसावधानी अपनाउन अनुरोध गर्दै जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन, अत्यावश्यक काम नपरी यात्रामा ननिस्कन तथा घरटहरा लगायतका भवन संरचना कमजोर र जोखिमयुक्त भएमा सुरक्षित ठाउँमा बसोबास गर्न अनुरोध गरेको छ ।

यसैगरि घर बाहिर आगो नबाल्नुहुन र घरभित्र पनि आगोबाल्दा सावधानी अपनाउन, हावाहुरीका कारण विद्युतका पोल ढल्न सक्ने भएकोले विद्युतको तार मुनि नबस्न र तारलाई नछुन, अग्ला रुख नजिक नबस्न, हावाहुरीका कारण जस्तापाता लगायत हावाहुरीले उडाएका सामानले क्षति पु¥उन सक्ने भएकोले सावधानी अपनाउनु हुन सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मीद्वारा प्रकाशित सुचनामा जनाईएको छ ।
यस विपजन्य घटनाको जोखिमलाई संवेदनशील रुपमा लिई पूर्वसावधानी अपनाउनु हुन र कुनै विपदद्धन्य घटना घटेमा उद्धार र राहतका लागि नजिकको प्रहरी ईकाइ, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय (सम्पर्क नम्बर ९८५६०६७७७७) वा जिल्ला प्रहरी कार्यालय (सम्पर्क नम्बर ९८५६०६५५५५) र जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र (सम्पर्क नं ९८२७१९००८६÷९८४६५६४२४४) मा सम्पर्क राख्न प्रशासनले अनुरोध गरेको छ ।












