घरवासको आनन्द लिन तनहुँको रामकोट जाने कि !

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २६

तनहुँ बन्दीपुर गाउँपालिका–३ स्थित रामकोट गाउँ पर्यटकका पर्खाइमा छ । बन्दीपुरको बजार क्षेत्रबाट सात किलोमिटर पश्चिममा रहेको यो गाउँ जिल्ला सदरमुकाम दमौलीदेखि १३ किलोमिटर दूरीमा अवस्थित छ । समुद्री सतहबाट करिब एक हजार १०० मिटर उचाइमा रहेको यो गाउँ मगर संस्कृतिको जीवन्त सङ्ग्रहालयजस्तै बनेको छ ।

पुरानो ढुङ्गाले छाएका घर तथा आँगन, गाउँका गल्ली तथा चोकका बाटाहरू । स्थानीयवासीले सरसफाइमा देखाएको अग्रसरताले यहाँको सौन्दर्यता अझै चुलिएको छ । जीवन्त ग्रामीण परिवेश, मौलिक रहनसन, कला सस्कृति अनुभव बटुल्न आन्तरिक तथा बाह्य पर्यटक यहाँ आउने गर्दछन् ।

मनोरम शान्त वातावरण र मौलिकता युक्त गाउँले जीवनको प्रत्यक्ष अनुुभव लिन आउन चाहने जो कोहीलाई यो गाउँ पुग्नैपर्ने गन्तव्यका रुपमा विकास भइरहेको छ । मगर समुदायको बाहुल्यता रहेको यस गाउँमा कूल ९५ घरधुरी रहेकोमा ४५ घरधुरीले अहिले सामूहिक रुपमा घरवास (होमस्टे) सञ्चालन गरिरहेका छन् ।

गाउँमा आउने स्वदेशी एवं विदेशी पर्यटकलाई स्थानीले दिने गरेको आतिथ्यताले यस ठाउँप्रतिको आकर्षण बढ्दो क्रममा रहेको रामकोट सामुदायिक होमस्टेका अध्यक्ष निरकाजी आलेले बताए । सुरुमा २०७६ सालमा १४ घरधुरीबाट घरवास कार्यक्रम सुरु गरिएकामा उक्त सङ्ख्या बढेर ४५ घरमा पुगेको उनले बताए ।

प्रकृति र संस्कृतिको अनुपम सङ्गमजस्तै रहेको रामकोटमा मगर संस्कृतिका विविधता एक साथ अवलोकन गर्न पाइन्छ । गाउँमा आउाने पर्यटकहरूलाई मगर समुदायको मौलिकता झल्काउने झ्याउरे, कौरा, चुड्काजस्ता विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गदैै मनोरञ्जन गराउने गरिएको छ ।

मगर संस्कृतिको जगेर्नासँगै स्थानीयको आयआर्जनसमेत बढाउने उद्देश्यले गाउँमा घरवास सुरु गरिएको बताउँदै उनले यसलाई समयसापेक्ष रुपमा थप परिमार्जन र विकास गर्दै लैजाने सोच राखिएको जानकारी दिए ।

गाउँमा आएका पर्यटकले यहाँको प्राकृतिक सौन्दर्यतासँगै खानपानलाई रुचाउने गरेको घरवास सञ्चालक मनमाया थापा बताउँछिन् “गाउँमा आएका पर्यटकले यहाँको प्रकृति, संस्कृतिसँगै न्यानो आतिथ्यताको प्रशंसा गरेर फर्कने गरेका छन्”, उनले भनिन्, “हामीले पर्यटकलाई यामअनुसार गाउँममा नै उत्पादन हुने तरकारी तथा स्थानीय चामल, रैथाने अन्य वस्तुहरूसँगै खसी तथा कुखुराको मासु खुवाउने गरेका छौँ ।”
घरवास सञ्चालनले स्थानीवासीको जीवनशैलीमा समेत परिवर्तन आएको अर्का होमस्टे सञ्चालक बिहीसरा आलेले बताइन् । घरवासले आयआर्जनसँगै स्वरोजगारी अभिवृद्धि गरिरहेको बताउँदै उनले यसमा स्थानीयवासीको जागरुतासमेत बढिरहेको बताइन् । आफूहरूको प्रयासमा राज्यका तर्फबाट निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको उनको भनाइ छ ।

गाउँपालिकाले यस वर्ष सुरुमा घरवास सञ्चालन भएका केही घरको आँगनमा ढुङ्गा बिच्छ्याउनका लागि रु आठ लाख विनियोजन भई काम अघि बढ्न लागेको उनले बताइन् । उनका अनुुसार पछिल्लो समयमा बन्दीपुरमा आएका पर्यटकहरू रामकोट आउने क्रम बढिरहेको छ । बन्दीपुरमा सञ्चालित भिलेज सफारीका कारण पनि यहाँ आउने पर्यटककको सङ्ख्या बढ्दै गएको स्थानीयवासी बताउँछन् ।

जङ्गल सफारीमा प्रयोग गरिनेजस्तै सवारीसाधन प्रयोग गरेर बन्दीपुर र आसपासका गाउँमा पर्यटकहरूलाई पु¥याउने गरिएको भिलेज सफारीका सञ्चालक वसन्त पौडेलले जानकारी दिए । पर्यटककको इच्छाअनुुसार उनीहरूलाई ग्रामीण परिवेशको अवलोकन गराउन गाउँगाउँमा पु¥याउने गरिएको उनको भनाइ छ ।

विगतमा परम्परागत कृषिमा मात्रै रुमल्लिएको स्थानीयवासीको जीवन घरवास सञ्चालनसँगै परिवर्तन भएको घरवास सञ्चालहकहरू बताउँछन् । यहाँबाट बन्दीपुरसँगै केशवटार, छाब्दी बराहीजस्ता गन्तव्यहरूमा जान सकिन्छ ।

गाउँ पर्यटनको प्रवद्र्धन र विकासको लक्ष्यका साथ नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश र बन्दीपुर गाउँपालिकाको आयोजना एवं गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशको सहआयोजनामा हालै बन्दीपुरमा गाउँ पर्यटन मार्ट २०८३ सम्पन्न गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पूर्व अर्थमन्त्री ज्ञानेन्द्र कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । बैशाख २४ पोखरा विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध