देवघाट । जेठ २०
चितवनको भरतपुर महानगर र तनहुँको देवघाट गाउँपालिका–५ जोड्ने त्रिशुली नदीको झोलुङ्गे पुलमा मोटरसाईकल चलाउन पुनः रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले उक्त पुलमा मोटरसाईकल चलाउन रोक लगाएको हो ।
उक्त पुलमा मोटरसाईकल डोहो¥याएर मात्र आवत जावत गर्न पाईने नियन राखिएको भएपनि सर्वसाधरणले उक्त नियम अटेर गरि पुलमा मोटरसाईकल हुँईक्याउन थालेपछि जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार साँझबाट पुनः पुलमा मोटरसाईकल आवतजावतमा रोक लगाएको हो ।




यसअघि गत बैशाख ८ गते चितवन प्रशासनले पुलमा मोटरसाईकल चलाउन रोक लगाएकोमा स्थानीयको अनुरोध र नियम पालना गर्ने प्रतिबद्धतापछि पुलमा मोटरसाईकल डोहो¥याएर मात्र आवतजावत गर्ने शतर्मा बैशाख १९ गतेबाट पुलमा भएको अवरोध हटाईएको थियो । तर पुनः उक्त मोटरसाईकल हुँईक्याउन थालिएपछि पुल बन्द गर्नुपरेको चितवन प्रशासनको भनाई छ ।

जिर्ण भएको उक्त पुलमा मोटरसाईकल चलाउँदा कुनैपनि समय दुर्घटना हुनसक्ने भन्दै चितवन प्रशासनले पुलको मोटरसाईकल गुड्ने क्षेत्रमा बाँसको अवरोध बनाईएको छ । पुलको मुखमा संरचनागत प्रबन्ध गरेर पुलबाट मोटरसाईकल आवतजावतमा रोक लगाउन निर्देशन दिएका थिए ।
स्थानीय बासिन्दाले प्रशासनको नियम पालना गरेको तर अन्य केही व्यक्तिले नियम उल्लंघन गरे भन्दैमा पुलमा मोटसाईकल आवत जावतमा नै अवरोध गर्न नमिल्ने स्थानीय बासिन्दा शिवराज पौडेलले बताए । पुलको दुबै तर्फ सुरक्षाकर्मी राखेर त्यस्तो नियम उल्लंघन गर्नेलाई तत्काल कारवाही गर्नुपर्नेमा उल्टै स्थानीय सर्वसाधरणलाई दुख दिने गरि पुलमा नै अवरोध सिर्जना गर्नु दुखद भएको पौडेलले बताए । चितवन प्रशासनको उक्त अवरोध स्थानीय बासिन्दाले हटाएर पुलबाट नै मोटरसाईकल आवत जावत गराउने पौडेलले बताए ।

४४ वर्ष अघि निर्माण भएको उक्त पुल पछिल्लो समय निकै जिर्ण भईसकेको तथा मानिस मात्र आवतजावत गर्ने गरि डिजाईन गरिएको भन्दै पुल विभागले मोटरसाईकलको आवत जावतमा रोक लगाउने विषयमा चासो देखाउँदै आएको थियो ।
माघे संक्रान्तिको समयमा भने मर्मतको लागि प्रत्येक वर्ष केही दिन उक्त पुलमा मोटरसाईकल सन्चालनमा रोक लगाईदै आएको छ । २०३७ सालमा निर्मित उक्त पुल जिर्ण भएपछि प्रत्येक वर्ष मर्मत गरिँदै आएको छ । भिड हुँदा एकैपटकमा पाँच सय भन्दा बढिले सो पुलबाट आवत जावत गर्छन् । एकै पटकमा सयौंजनाले पुल तर्दा उक्त पुल पिङ झैं हल्लने गरेको देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष समेत रहेका पौडेलले बताए ।

देवघाटमा मेला हुने दिनमा दैनिक २५/३० हजार तथा अन्य सामान्य दिनमा दैनिक पाँच हजार भन्दा बढि सर्वसाधरणले उक्त झोलुङ्गे पुलबाट आवत जावत गर्छन् । साथै देवघाट गाउँपालिका–५ का करिब ८० प्रतिशत नागरिकले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दुरीको सोही पुल नै प्रयोग गर्दै आएका छन् । सोही पुलबाट दैनिक सयौं स्थानीयहरुले मोटरसाईकल पनि वारपार गर्दै पनि आएका छन् । हरेक वर्ष साउन महिनामा हुने बोलवम मेला, बालाचर्तुदशी, माघे संक्रान्ति मेला, औंशी, एकादशी, सुर्य ग्रहण, चन्द्र ग्रहण लगायतका धार्मिक पर्व तथा मेलाहरुमा दैनिक दशौं हजारले उक्त पुलबाट आवत जावत गर्छन् ।
देवघाट आउनकोलागि हाल उक्त झोलुङ्गे पुल बाहेक ठिमुरा, दासढुङ्गा र नवलपुर जोड्ने हर्दीमा मोटरेवल पुल सन्चालनमा रहेको तथा जुगेडीको झोलुङ्गे पुल पनि छ । तर देवघाट आउने भक्तजन मध्ये करिब ९५ प्रतिशत चितवनको आपँटारी हुँदै उक्त पुल तरेर तनहुँ प्रवेश गर्ने पौडेलले दाबी गरे । निर्माण भएयताको यो ४४ वर्षमा करिब ३ करोड भन्दा बढि भक्तजनले उक्त पुलबाट आवत जावत गरिसकेको पौडेलले दाबी गरे । सोही कारण पनि उक्त झोलुङ्गे पुलको विकल्प सोच्नु पर्ने बेला आएको पौडेलले बताए ।












