तनहुँ । जेठ ३०
जिल्लाभर तिन महिनाकोलागि नदीजन्य पदार्थको उत्खनन र संकलनमा रोक लगाईएको छ । ढुङ्गा, गिटी, बालुवा उत्खनन, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ मा उल्लेखित कानुनी प्रावधान अनुसार तनहुँ जिल्लाभर नदिजन्य पदार्थको उत्खनन र संकलनमा रोक लगाईएको हो ।



तनहुँको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले सार्वजानिक सुचना प्रकाशन गरि असार १ गतेदेखी ढुङ्गा, गिटी, बालुवा उत्खनन र संकलनमा रोक लगाएका छन् । ति दुई पालिकाले शुक्रबार सूचना प्रकाशित गर्दै सबै नदी तथा घाटहरूबाट बालुवा, गिट्टी र ढुङ्गा उत्खनन गर्न रोक लगाएका हुन् । ढुङ्गा, गिटी, बालुवा उत्खनन, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ मा असार १ गतेदेखी भदौ मसान्तसम्म ढुङ्गा, गिटी, बालुवा उत्खनन र संकलन गर्न नपाइने उल्लेख छ ।
कसैले नियमविपरीत नदीजन्य पदार्थ उत्खनन वा ओसारपसार गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कानुनी कारबाही गरिने भिमाद र म्याग्देले जनाएको छ । विभिन्न स्थलहरूमा पूर्व स्वीकृति लिई भण्डारण (स्टक) गरी राखिएको नदीजन्य पदार्थको हकमा भने आगामी असार मसान्तभित्र कार्यालयबाट स्टक प्रमाणित गराउनुपर्ने भिमाद नगरपालिकाले जनाएको छ । तोकिएको अवधिभित्र स्टक प्रमाणित नभएका नदीजन्य पदार्थ आगामी साउन १ गतेपश्चात् अनुगमनका क्रममा देखिएमा वा भेटिएमा अवैध ठहर गरी प्रचलित कानुनबमोजिम जफत तथा कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत सोभाखर पोखरेलले बताए ।
यसैगरि म्याग्दे गाउँपालिका राजश्व परामर्श समिति र कार्यपालिकाको निर्णय अनुसार चालु आर्थिक वर्ष ०८२/०८३ को लागी आय ठेक्का अन्र्तगत ठेक्का सम्झौता भएका कम्पनी तथा निजी जग्गा ब्यवस्थापन अन्र्तगत जग्गा व्यवस्थापन अनुमती लिएका सम्झौताको समय यही जेठ ३१ वाट स्वतः समाप्त हुने भएको हुँदा कोही कसैले पनी कुनै पनी नदीजन्य पदार्थ तथा निजी जग्गा अन्र्तगतका उत्खनन् अनुमती प्राप्त गरेका पदार्थहरुको जेठ ३१ पश्चात उत्खनन् संकलन गर्न नपाईने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।












