काठमाडौं । जेठ ३१
नेकपा एमालेकी केन्द्रीय सदस्य भगवती न्यौपानेले खेल भावनालाई राष्ट्रियतासँग जोड्ने काम नगर्न प्रधानमन्त्री बालेन्द्र शाहलाई अनुरोध गरेकी छिन् । पुर्वमन्त्री समेत रहेकी न्यौपानेले सामाजिक सन्जाल मार्फत प्रधानमन्त्री शाहलाई सुझाव दिँदै खेल भावनालाई राष्ट्रियतासँग जोड्न नहुने बताइन् ।



‘खेल भावनालाई राष्ट्रियतासँग जोड्ने काम नगरौं प्रधानमन्त्री बालेन्द्र शाहज्यू ।’ न्यौपानेले सामाजिक सन्जालमा लेखेकी छिन् । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सन्जालमा आफुलाई मनपर्ने देशले अहिलेसम्म विश्वकप नखेलेको लेखेपछि एमाले नेतृ न्यौपानेले उक्त सुझाव दिएकी हुन् ।
‘विश्वकप फुटबल चलिरहेको बेला तपाईंले जे लेख्नुभो, बेठीक लेख्नुभो । म पनि चाहन्छु, फूटबलको विश्वकपमा नेपाल पुगोस् । नेपालले विश्वकप फुटबलको फाइनल राउण्ड (४८ देश) खेल्न पाएन भन्दैमा खेलिरहेका टिमहरुप्रति नेपालका प्रधामन्त्रीले सम्मान व्यक्त गर्न मिल्दैन र ?’ विश्व फुटबलका महान खेलाडीहरुलाई म राष्ट्रियताको चश्माले हेर्दिनँ । पेले, म्याराडोना, मेस्सी, रोनाल्डो, जोन क्रुफ, जिदान लगायतका खेलाडी कुन देशका हुन् भन्नेसँग के मतलब ? उनीहरुलाई महान मानेको उनीहरुको खेल कौशलले गर्दा हो ।’
‘भारतसँग हाम्रो धेरै विषयमा असहमति छ, सीमा विवाद छ । तर, लता मंगेशकर, मोहम्मद रफी आशा भोस्ले, किशोर कुमारदेखि अहिलेको पुस्ताका गायक गायिका म मन पराउँछु । फिल्म हेर्छु । उनीहरुलाई मन पराउने म जस्तै धेरै नेपाली पक्कै छन् । उनीहरुको प्रतिभालाई मन पराएको हो । भारतका सचिन तेन्दुलकर, अमिताभ बच्चनलाई म मन पराउँछु, पाकिस्तानका इमरान खान, नसरत फतेह अली खानालई मन पराउँछु । यसमा राष्ट्रियताको कुरा आउँछ र ? विश्व क्रिकेटका दिग्गज हस्तीहरुलाई हामी सम्मान गर्छाैं । भारत, पाकिस्तान, इंगल्याण्ड, अष्ट्रेलिया लगायतका देशका क्रिकेट टिमसँग नेपालको क्रिकेट टोलीले खेल्दा हार्छ र हारेको पनि छ । तर, उनीहरुसँग खेल्न पाउनु पनि ठूलो कुरा हो ।’ न्यौपानेले लेखेकी छिन् ।
‘विज्ञान प्रविधिका हस्तीहरुलाई हामी सम्मान गर्छाैं । अल्बर्ट आइन्स्टाइन, म्याडम क्यूरी, मार्काेनी, न्यूटन, लुइस पाश्चर लगायतका वैज्ञानिकहरुलाई हामी महान भन्छौं । उनीहरु कुन देशका हुन् भन्ने मतलब गर्दैनौं । काठमाडौंको रंगशालामा नेपालको टिमले ब्राजिल, अर्जेन्टिना, स्पेन, पोर्चुगल, निदरल्याण्ड लगायतका फुटबल पावर हाउस देशको फुटबल टिम खेल्न पाओस् । त्यो खेलमा नेपालले जिते राम्रो, नजिते पनि केही छैन, नेपालले त्यस्तो देशसँग खेल्न पायो भनेर नेपालीहरुको खुसीको सीमा रहने छैन । नेपालले त्यस्ता हस्ती देशको टिमसँग हार्यो भने पनि ती देशको टिमको सम्मानमा लाखौं नेपाली सडकमा फूल बोकेर आउनेछन् ।’
‘प्रधानमन्त्रीज्यू, विश्वकप फुटबल चलिरहेको बेलामा खेल भावनाको कुरा गरम्, राष्ट्रियताको खेती नगरम् । खेल भावना र राष्ट्रियता फरक कुरा हो । नेपाल आउने विदेशी क्रिकेट या फुटबल टिमसँग नेपाली टिम कैयन पटक हारेको छ । तर, हारपछि पनि ती टिमलाई नेपाली जनताले सम्मान गरेका छन् । खेलमा नेपाली दर्शकले आफ्नो देशको टिमलाई गर्ने समर्थन र प्रतिस्पर्धी टिमलाई गर्ने सम्मान (हारे पनि जिते पनि) विश्वमै उदाहरणीय मानिन्छ, यो कुरा प्रधानमन्त्रीज्यूले बुझ्नुपर्यो ।’ न्यौपानेले भनेकि छिन् ‘खेल भनेको विश्वभरीका मानिसको भावना जोड्ने, आपसी सम्बन्ध जोड्ने माध्यम हो, यसमा राष्ट्रियताको राजनीति गर्न हुँदैन । खेलले कुनै पनि राष्ट्रको सामरिक शक्ति होइन, प्रतिभाको प्रदर्शन हो । त्यसैले प्रतिभा जुनसुकै देशको होस्, कदर र सम्मान गर्नुपर्छ ।’
‘अहिलेको विश्वकपका विभिन्न टिमको समर्थनमा नेपालीहरु छन् । कसैले कुन टिमलाई समर्थन गर्छन्, कसैले कुनलाई गर्छन् । त्यो समर्थन खेल भावनाको आधारमा हो, त्यो टिमको प्रतिभा र खेल कौशलको आधारमा हो, राष्ट्रियताको आधारमा होइन । तसर्थ प्रधानमन्त्रीज्यू, तपाईंले बहुत हलुका स्टाटस लेख्नुभयो । तपाईंको यो स्टाटस एउटा प्रधानमन्त्रीले लेख्ने खालको भएन । हाम्रो देशको टिम विश्वकपमा पुग्नुपर्छ, पुग्यो भने सारा नेपाली खुसी हुनेछन् । विश्वकप फुटबल होस् या अन्य कुनै खेल, त्यहाँ कुनै देशको टिमले जित्दा या हार्दा त्यो देशको राष्ट्रियताले जित्ने हार्ने हुँदैन ।’
‘विश्वकपमा नेपाल प्रत्यक्ष सहभागी भएको छैन तर अप्रत्यक्ष सहभागी छ प्रधानमन्त्रीज्यू । विश्वकपको छनौट खेलमा नेपाल सहभागी भएको छ । विश्वकपको फाइनल राउण्डमा नेपाल पुगेको छैन, यो बेग्लै कुरा हो तर फिफामा नेपाल पनि सहभागी छ । फिफामा हाम्रो देशको पनि सहभागिता छ । यो कुरा किन ख्याल गर्नुभएन प्रधानमन्त्रीज्यू ? हो, विश्वकपको अहिले भइरहेको फाइनल राउण्ड (४८ देश) मा नेपाल सहभागी छैन तर म सारा नेपालीलाई के अपिल गर्छु भने त्यहाँ सहभागी टिमहरुमध्ये आफूलाई मन परेको टिमलाई समर्थन गर्नुस्, उसले जितोस् भनेर कामना गर्नुस्, जित्यो भने उत्सव मनाउनुस्, जितेन भने केही छैन, जसले जित्छ उसलाई बधाई ज्ञापन गर्नुस् ।’
‘खेल भनेको खेल हो । यसलाई राष्ट्रियताको सानो घेरामा सीमित गर्ने काम हाम्रा प्रधानमन्त्रीले गर्न हुँदैन । बरु, मलाई फलाना देशको टिम मन पर्छ भन्नुस्, त्यो टिमको समर्थन गर्नुस् । समर्थन गरेको टिमले हार्यो भने नरिसाउनुस्, बरु, जित्ने टिमलाई बधाई दिनुस् । प्रधानमन्त्रीज्यू, विश्वकप फुटबल भनेको विश्व मानवताको उत्सव हो । नेपालको प्रधानमन्त्री पदमा रहेर पनि तपाईंले कुनै टिमलाई समर्थन गर्न सक्नुहुन्छ । तपाईंले कुनै देशको टिमलाई समर्थन गर्नुभयो भने बाँकी अरु देश रिसाउँदैन । त्यो देशसँग नेपालको कुटनीतिक सम्बन्ध पनि बिग्रँदैन । खेल भावनामा डुबेर कुनै देशलाई समर्थन गर्दा अर्काे देश रिसाउँदैन ।’
‘सभामुख भएको बेला सुवासचन्द्र नेम्वाङले विश्वकप फुटबलमा ब्राजिललाई समर्थन गर्नुभएको थियो, आफू मेस्सीको समर्थक भएको बताउनुभएको थियो । ब्राजिल र मेस्सीलाई समर्थन गर्दा नेपालको कुनै देशसँग सम्बन्ध बिग्रिएन । प्रधानमन्त्रीज्यू, विश्वकप फुटबललाई तपाईंले अनादर गर्नुभएको छ । आफ्नो स्टाटसलाई सच्याउनुस् । बरु, विश्वकप फुटबल हेर्न जानुस् र सिक्नुस्, नेपाललाई पनि कसरी विश्वकपको फाइनल राउण्डमा पुराउने भनेर विश्वकप फुटबल हेरेर आएर योजना बनाउनुस् । प्लिज, विश्व मानवताको एक महान उत्सव विश्वकप फुटबलको अनादर नगर्नुस् ।’ न्यौपानेले लेखेकी छिन् ।












