चितवन । असार १८
चितवनको इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त बस्नेत माथि कार्यकक्षमै प्रवेश गरी कुटपिट गरिएको छ । बस्नेतमाथी बिहीबार बिहान करिब ११ बजे केही व्यक्तिहरू कार्यकक्षमा प्रवेश गरी ढोका बन्द गरेर कुटपिट गरेका थिए । उक्त कुटपिटको घटनापछि घाइते भएका बस्नेत इच्छाकामना आधारभूत अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् ।



उनका अनुसार आक्रमणकारीहरूले खोलाबाट ढुंगागिट्टी उत्खननसम्बन्धी मुद्दामा गाउँपालिकाले अदालतबाट जितेको विषयलाई लिएर आक्रमण गरेका हुन् । “हिजो अदालतमा मुद्दाको सुनुवाइ थियो । उनीहरूले हारे, गाउँपालिकाले जित्यो । त्यसको रिसमा ‘हामीलाई मुद्दा किन हराइस्’ भन्दै ममाथि कुटपिट गरियो,” उनले भने ।

आक्रमणका क्रममा आफूलाई ज्यान तथा परिवारमाथि समेत धम्की दिइएको उनको भनाइ छ । “तँले हामीलाई असहयोग गरिस्, तलाई जे पनि गर्छौं, तेरो परिवारलाई समेत जे सुकै गर्न तयार छौँ भन्ने धम्की दिँदै कार्यकक्षमै आएर हातपात गरे,” भने । कुटपिटबाट उनको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।
प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि कार्यकक्षमै प्रवेश गरी कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनिहरुलाई धादिङको गजुरीबाट गाडीसहित पक्राउ गरिएको हो । उनिहरुलाई पक्राउ गरि चितवन ल्याइएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।
इच्छाकामना गाउँपालिकाका कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि कार्यालयभित्र भएको सामूहिक आक्रमणको विरोध गर्दै दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन् । गाउँपालिकाका सम्पूर्ण कर्मचारी परिवारद्वारा जारी विज्ञप्ति अनुसार, बिहिबार बिहान करिब ११ बजे गाउँपालिकाको कार्यालयमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतमाथि कालिका २ पदमपुरको किंगफिसर कन्सट्रक्सनका प्रोप्राइटर लालबहादुर तामाङसहित ६ जनाको समूहले कार्यालयमै प्रवेश गरी सामूहिक आक्रमण गरेको जनाइएको छ ।
विज्ञप्तिमा प्रमुख प्रशासकीय अधिकृतमाथि ज्यान मार्ने उद्देश्यले आक्रमण गर्नुका साथै परिवारलाई समेत नछाड्ने धम्की दिएको भन्दै उक्त घटनालाई कार्यालयभित्र भएको गम्भीर आपराधिक घटना भन्दै भत्र्सना गरिएको छ । दोषीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सम्बन्धित निकायसँग कर्मचारीले माग गरेका छन् ।

विज्ञप्तिमा कार्यालय समयमै प्रशासनिक नेतृत्वमाथि भएको आक्रमणले कर्मचारीहरूको सुरक्षा र मनोबलमा गम्भीर असर परेको उल्लेख गर्दै दोषीमाथि आवश्यक कानुनी कारबाही नहुँदासम्म कार्यालयको नियमित कामकाज गर्न नसकिने उल्लेख गरिएको छ । साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन तथा कर्मचारीहरूले सुरक्षित वातावरणमा आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्ने अवस्था सिर्जना गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ । उक्त विज्ञप्तिमा गाउँपालिकाका कर्मचारीहरूको सामूहिक हस्ताक्षर रहेको छ ।












