‘सर्च एण्ड स्वीप’ अभियानको क्रममा २५ जना नियन्त्रणमा

Devghat Online

शेयर गरौ

तनहुँ । साउन २

जिल्ला प्रहरी कार्यालय तनहुँले शान्तिसुरक्षा सुदृढ बनाउन सञ्चालन गरेको विशेष प्रहरी अभियानका क्रममा शुक्रबारसम्म २५ जना शङ्कास्पद व्यक्ति नियन्त्रणमा परेका छन् ।

उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाइबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा ‘सर्च एण्ड स्वीप’ अभियान सञ्चालन गरेको थियो ।

अभियान अन्तर्गत लागुऔषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्रीवितरण नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोतसाधनको अनधिकृत दोहन रोकथाम तथा शान्तिसुरक्षा कायम गर्ने उद्देश्यले एकसाथ निगरानी र जाँच गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार सार्वजनिक स्थल, बजार क्षेत्र, संवेदनशील स्थान तथा आपराधिक गतिविधिको सम्भावना रहेका क्षेत्रमा विशेष निगरानी बढाइएको थियो । अभियानका क्रममा शुक्रबार नियन्त्रणमा लिइएका २५ जनामाथि आवश्यक अनुसन्धान अघि बढाइएको उनले जानकारी दिए ।

जिल्लामा शान्तिसुरक्षा कायम राख्ने, आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा नागरिकमा सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले यस्ता अभियानलाई नियमित बनाइएको उनले बताए । पछिल्लो समय लागुऔषध, चोरी, सार्वजनिक अपराध तथा प्राकृतिक स्रोतसाधनको अनधिकृत दोहन नियन्त्रणलाई प्राथमिकतामा राखेर प्रहरीले निगरानी र कारबाहीलाई थप प्रभावकारी बनाएको उनको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँले समुदाय–प्रहरी साझेदारीलाई थप प्रभावकारी बनाउँदै कुनै पनि शङ्कास्पद गतिविधि, अवैध कारोबार वा कानुनविपरीतका गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउन सबैलाई आग्रह गरेको छ ।

यसैविच तनहुँ प्रहरीले असार महिना भर सन्चालन गरेको सर्च एण्ड स्विप अपरेसन कारवाहीमा २६२ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी ईकाईबाट खटिएको प्रहरी टोलीले लागुऔषध नियन्त्रण, अबैध मदिरा, शान्तिसुरक्षा, फरार पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोत साधनको अनाधिकृत प्रयोग नियन्त्रण लगायतको लागी असार महिनामा गरिएको सर्च एण्ड स्विप अपरेसन कारबाहीमा २६२ जना शंकास्पद व्यक्ति नियन्त्रणमा लिइएको जनाईएको छ । जसमा ३ जना फरार अभियुक्त समेत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जन्मदिनको उत्सवलाई सामाजिक सेवासँग जोड्दैः पौडेलद्वारा विद्यालयलाई वाटर डिस्पेन्सर हस्तान्तरण

विष्णु मगर । देवघाट, असार ३२ आजभोलि जन्मदिन भन्नासाथ केक काट्ने, भोज गर्ने र रमाइलो