देवघाट । साउन ३
हरेक वर्ष साउनको सोमबार मनाउँदै आइरहेको बोलबम मेला साउन ४ गते सोमबारबाट देवघाटमा सुरु हुने भएको छ । मेला साउनको प्रत्येक सोमबार हुनेछ । यस वर्ष साउन महिनामा ४ वटा सोमबार परेको हुँदा उक्त चारै दिन हजारौ भक्तजन मेला भर्न आउने अपेक्षा गरिएको छ ।



पहिलो सोमबारको दिन बोलवम स्नानको लागि हजारौं भक्तजन देवघाट आउने अपेक्षा गरिएको छ । बोलवम मेलामा देवघाटको बेणी संगम र शिवालयहरुमा भक्तजनहरुको घुँइचो लाग्छ । त्यसबाहेक साउनका अन्य बारमा पनि देवघाटमा दैनिक हजारौंको संख्यामा भक्तजन आउने छन् ।
चितवन, तनहुँ र नवलपुरको सङगमस्थल देवघाटमा साउनको सोमबार हरेक वर्ष उत्सवका रुपमा मनाइने बोलबम मेलामा देश बिदेशबाट हजारौं भक्तजन आउने गर्छन् । साउने सोमबार देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको देवघाट क्षेत्र विकास समितिका पुर्व अध्यक्ष शिवराज पौडेलले बताए । साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गर्ने धार्मिक मान्यता छ ।

साउनमा त्रिशुली र कालिगन्डकी नदीको बहाव बढ्ने हुँदा मेलामा स्नान गर्न आउने भक्तजनको सुरक्षाको लागि तनहुँ र चितवन तर्फ सुरक्षा सतर्कता बढाइएको इलाका प्रहरी कार्यालय देवघाटले जनाएको छ । सोमबारको मेलाको लागि नदि किनारमा बिजुली बत्तिको प्रबन्ध गर्ने, नदीमा स्नान गर्ने भक्तजनको सुरक्षाको लागि डोरी सहितको दुई वटा डुङ्गाको व्यवस्थापन गरिने छ ।
धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिकोणले देवघाटधाममा बोलबमको महत्व अत्यन्तै ठूलो छ । विशेषगरी साउन महिनामा देवघाटमा बोलबमको रौनक छुट्टै हुने गर्दछ । देवघाटधाम कालीगण्डकी र त्रिशूली नदीको पवित्र संगम (त्रिवेणी) हो ।
बोलबमका श्रद्धालुहरूका लागि नदीको पानी शुद्ध र पवित्र मानिन्छ । बोलबमको मुख्य विधिको रूपमा भक्तजनहरूले देवघाटको त्रिवेणी संगमबाट शुद्ध जल आफ्नो काँवर (बाँसको खलाँती) मा भर्छन् । उक्त जललाई खाली खुट्टा हिँडेर चितवनको पछिल्लो गद्दी शिव मन्दिर, देवघाटकै हरिहर मन्दिर, वा छिमेकी जिल्लाका विभिन्न प्रसिद्ध शिवालयहरूमा पु¥याई भगवान शिवलाई अर्पण गरिन्छ ।

संगमको जल शिवलाई चढाउनाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ । साउन महिना र त्यसमा पनि सोमबारलाई भगवान शिवको प्रिय दिन मानिन्छ । पौराणिक मान्यता अनुसार, समुन्द्र मन्थन गर्दा निस्किएको ‘हलाहल’ विषको डाह शान्त पार्न शिवले जल र गंगाजीलाई शिरमा धारण गर्नुभएको थियो । त्यसैले साउनको सोमबार देवघाटको चिसो र पवित्र जल शिवलाई चढाउन बोलबमका भक्तहरूको ठूलो घुइँचो लाग्ने गर्दछ ।












