जनताले दुख पाउने यो अन्तिम वर्षः सांसद न्यौपाने
तनहुँ । साउन ३



तनहुँको भिमादबाट दक्षिणी क्षेत्रका घिरिङ र ऋषिङ गाउँपालिका तथा नवलपुर, स्याङजा र पाल्पा जिल्लाका केही स्थानीय तह जोडने श्रृङ्गमार्गले हरेक वर्षायाममा नागरिकलाई निकै सास्ती दिन्छ । यसवर्ष पनि श्रृङ्गमार्गले स्थानीयलाई सास्ती दिन थालिसकेको छ ।
उक्त मार्गको भिमाद–घिरिङ देउराली खण्डको ठाउँ ठाउँमा हिलोले सवारी साधनहरु चल्नै सक्दैनन् । नागरिकले भोग्दै आएको उक्त समस्याको साक्षी यसपटक यसै क्षेत्रका जनप्रतिनिधि भएका छन् । विभिन्न कार्यक्रमको लागि तनहुँ क्षेत्र नम्बर २ मा रहेका उक्त क्षेत्रका प्रतिनिधि सभाका सांसद ई.श्रीराम न्यौपाने आइतबार दिउँसो उक्त सडकको दुरास्वस्थाको साक्षी बसेका छन् । सडकको दुरावस्थाको कारण नागरिकले दुख भोग्नु परेको गुनासो आएपछि सांसद न्यौपानेले उक्त सडकको निरिक्षण गरेका छन् ।

सडक निरिक्षण गर्दै सांसद न्यौपानेले तत्कालको लागि सडकमा सवारी गुड्न सक्ने बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । सांसद न्यौपानेको निर्देशनपछि असाध्यै हिलो भएको ठाउँमा गिटि ओच्छ्याईएको थियो । सोमबार दिनभरी मोटरमार्गको सेर्का खण्डमा अति समस्या भएको ठाउँमा स्थानिय प्रशासन र सडक डिभिजनको जेसिभी प्रयोग गरि तत्कालकोलागि समाधान निकालिएको भिमाद नगरपालिकाका प्रवक्ता एवं वडा नम्बर ३ का अध्यक्ष पदमराज सेनले बताए । ‘संयोगले यो बाटो चौपट भाईरल भएको सुनेर वा सन्जालमा देखेर यसै क्षेत्रका सांसद श्रीराम न्यौपानेज्यु पनि दिनभरी सोही स्थानमा रहनुभयो’ प्रवक्ता सेनले भने ‘अब हामी भिमाद, घिरिङ र ऋषिङ मिलेर बर्षाभरी सुचारु हुने कार्यमा लाग्नेछौँ, आम नागरिकमा हालसम्म पर्न गएको पिडाप्रति हामी नमन गर्दछौँ ।’

उक्त सडकको निरिक्षण गर्दै सांसद न्यौपानेले अव उक्त सडकको कारण नागरिकले दुख पाउने यो नै अन्तिम वर्ष भएको बताएका छन् । यसै आर्थिक वर्षमा उक्त सडकको नयाँ ठेक्का लाग्ने र पक्की सडक निर्माण हुने सांसद न्यौपानेले दाबी गरे । हालै पुर्वाधार विकासमन्त्री सुनिल लम्सालसँगको भेटमा पनि आफुले यही सडकको नयाँ ठेक्काको विषयमा ध्यानाकर्षण गराएको र मन्त्री लम्सालले पनि यसैवर्षमा सो सडकको ठेक्का लाग्ने बताएको सांसद न्यौपानेले बताए ।

श्रृङ्गमार्ग तनहुँको भिमाद नगरपालिकाको भिमाद बजारबाट रिसिङ, घिरिङ तथा नवलपुर, स्याङजा र पाल्पा तर्फ जोडिने एउटा महत्वपुर्ण सहायक राजमार्ग हो । यस मार्गले ऐतिहासिक तथा धार्मिक महत्व बोकेको शृङ्ग ऋषिको तपोभूमि (ऋषिङ्) क्षेत्र र आसपासका गाउँहरूलाई भिमाद बजारसँग जोड्ने गर्दछ । यसको प्रारम्भिक ट्रयाक खोल्ने काम वि.सं. २०२० सालमै सुरु भएको थियो । भिमाद बजारलाई आधार मानेर तनहुँका स्थानीय तहहरू ऋषिङ र घिरिङ गाउँपालिकालाई जोड्ने यो सडक यस क्षेत्रको आर्थिक र सामाजिक विकासको मेरुदण्ड मानिन्छ । यो सडक हुँदै कालीगण्डकी करिडोर तथा गण्डकी प्रदेशको त्रिवेणी नाका समेत जोडिने भएकाले यो रणनीतिक रूपमा पनि महत्वपूर्ण छ ।












