व्यास नगरपालिकाको चेतावनीः साउन १५ भित्र सडक पेटीका अवैध संरचना नहटाए नगरपालिका आफैँले हटाउने

Devghat Online

शेयर गरौ

तनहुँ । साउन ६

तनहुँको व्यास नगरपालिकाले बजार क्षेत्रका सडक पेटी मिचेर बनाइएका अनधिकृत संरचनाहरू तत्काल हटाउन अन्तिम चेतावनी दिएको छ । नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै वडा नं. २, ३ र ४ का बजार क्षेत्रमा सडक पेटी अवरुद्ध हुने गरी निर्माण गरिएका संरचना साउन १५ गतेभित्र हटाउन सम्बन्धित घरधनी तथा व्यवसायीहरूलाई ताकेता गरेको हो ।

यसअघि २०८३ जेठ २२ गते बसेको नगर कार्यपालिकाको २३८ औँ नियमित बैठकको निर्णय अनुसार जेठ २५ गते ३५ दिने प्रथम सूचना जारी गरिएको थियो । उक्त सूचनाको समयसीमा सकिएपछि पुनः २०८३ श्रावण १ गते बसेको २४३ औँ नियमित बैठकको निर्णय नं. ६ बमोजिम दोस्रोपटक यो सूचना जारी गरिएको हो ।

नगरपालिकाका इन्जिनियर अमृत केसीद्वारा जारी सुचना अनुसार हटाउनुपर्ने संरचनाहरूमा सडक पेटी अवरुद्ध हुने गरी निर्माण गरिएका र्याम्प, सिँडी तथा अन्य पक्की संरचना, सडक अधिकार क्षेत्र भित्र पर्ने गरी हालिएका टिनका छज्जा तथा घरका वरन्डा, सार्वजनिक आवतजावतमा बाधा पु¥याउने गरी सञ्चालन गरिएका व्यवसाय तथा सडकमा सिधै पानी खस्ने गरी राखिएका पाइपहरू रहेका छन् ।

नगरपालिकाका अनुसार तोकिएको समयसीमा (साउन १५ गते) भित्र घरधनी वा व्यवसायी आफैँले ती संरचना नहटाएमा प्रचलित कानून बमोजिम नगरपालिकाले नै हटाउनेछ । यसरी हटाउँदा लाग्ने खर्च तथा अन्य आवश्यक कारबाही प्रकिया समेत अघि बढाइने नगरपालिकाले जनाएको छ ।

सडक पेटी अतिक्रमणका कारण पैदल यात्रीहरू जोखिमपूर्ण तरिकाले मुख्य सडकबाटै हिँड्न बाध्य भएको र नगरको सौन्दर्यतामा समेत असर परेकाले बजारलाई व्यवस्थित बनाउन यो कदम चालिएको नगरपालिकाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपी स्मृति दिवसमा देवघाटमा वृक्षारोपणसँगै अपाङ्गता भएका बालकलाई आर्थिक सहयोग

देवघाट । साउन ६ जननायक विश्वेश्वरप्रसाद (विपी) कोइरालाको ४४ औं स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस

भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा साप्ताहिक रूपमा विशेषज्ञ स्वास्थ्य सेवा सुरु

तनहुँ । साउन ५ तनहुँको भिमाद नगरपालिका–६ स्थित भिमाद प्राथमिक स्वास्थ्य केन्द्रमा अबदेखि साप्तहिक रूपमा