तनहुँ । साउन २५
वन संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा उत्कृष्ट योगदान पु¥याएबापत तनहुँका तीनवटा वन समूह तथा व्यक्ति राष्ट्रियस्तरको पुरस्कारबाट सम्मानित भएका छन् । वन तथा भू–संरक्षण विभागद्वारा सोमबार आयोजित विशेष समारोहमा डिभिजन वन कार्यालय, तनहुँ अन्तर्गतका निजी वन धनी, कबुलियती वन र सामुदायिक वन उपभोक्ता समूहलाई राष्ट्रिय वन पुरस्कार प्रदान गरिएको हो ।




डिभिजन वन कार्यालय तनहुँका अनुसार सम्मानित हुनेहरूमा निजी वन राष्ट्रिय पुरस्कार तर्फ बन्दीपुर गाउँपालिका–१ का मानकाजी श्रेष्ठ प्रथम, कबुलियती वन राष्ट्रिय पुरस्कार तर्फ ढुङ्गाडाँडा कबुलियती वन समूह म्याग्दे गाउँपालिका–२ तृतिय एवं गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कार तर्फ उमाचोक सामुदायिक वन उपभोक्ता समूह म्याग्दे गाउँपालिका–२ ले सान्त्वना पुरस्कार पाएका छन् ।

स्थानीय स्तरमा वनको संरक्षण, जैविक विविधताको जगेर्ना र हरित अर्थतन्त्रमा पु¥याएको विशिष्ट योगदानको कदर गर्दै उनीहरूलाई सो पुरस्कार प्रदान गरिएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले पुरस्कृत वन समुह तथा व्यक्तिहरुलाई सम्मान गरेकी थिइन् ।
यसैगरि वन तथा भू–संरक्षण विभागले आर्थिक वर्ष २०८२/०८३ मा उत्कृष्ट कार्य गरेको भन्दै डिभिजन वन कार्यालय, तनहुँलाई सम्मान पत्र प्रदान गरेको छ । कार्यालयले वन संरक्षण, संवद्र्धन, दिगो उपयोग, वातावरण सन्तुलन तथा जैविक विविधता संरक्षणमा महत्त्वपूर्ण योगदान पु¥याएको भन्दै उक्त सम्मान गरिएको हो ।

विभागका अनुसार, डिभिजन वन कार्यालय तनहुँले जिल्ला भित्रका वन उपभोक्ता समूह र निजी वन धनीहरूलाई उत्कृष्ट ढंगले परिचालन गरी उनीहरूको कार्यसम्पादनलाई पुरस्कार योग्य बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । सो योगदानको उच्च कदर गर्दै विभागले सम्मान पत्र प्रदान गरेको विभागले जनाएको छ ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयका मन्त्री मा. गीता चौधरीको उपस्थितिमा भएको कार्यक्रममा विभागका महानिर्देशक धीरेन्द्र कुमार प्रधान र सचिव डा. राजेन्द्र प्रसाद मिश्रले डिभिजन वन प्रमुख मनोज रानाभाटलाई सम्मान गरेका थिए ।
यस सम्मानले डिभिजन वन कार्यालय तनहुँलाई भविष्यमा अझ सशक्त भएर वन क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूलाई परिचालन गर्न थप ऊर्जा प्रदान गर्ने डिभिजनल वन प्रमुख रानाभाटले बताए ।
स्थानीय समुदाय र डिभिजन वन कार्यालयको निरन्तरको सहकार्यले नै यो सफलता सम्भव भएको र यसले आगामी दिनमा वनको दिगो व्यवस्थापनमा थप ऊर्जा थपेको कार्यालयले जनाएको छ ।












