तनहुँ । साउन ३०
प्रतिनिधि सभा सदस्य ई.श्रीराम न्यौपानेले तनहुँ क्षेत्र नं. २ मा जनसम्पर्क तथा जनसंवाद यात्रा लाई निरन्तरता दिँदै जनताको घरदैलोमा पुगेर विकासका योजना र स्थानीय समस्याबारे छलफल गरिरहेका छन् । ‘समृद्ध तनहुँ–२ को आधार, जनतासँगै विकासको व्यवहार’ भन्ने नाराका साथ सञ्चालित अभियानअन्तर्गत गत फागुन २१ गते निर्वाचित भएयता संसद नचलेको समयको सदुपयोग गर्दै हालसम्म ५८ वटा जनसंवाद कार्यक्रम सम्पन्न भइसकेको सांसद न्यौपानेले बताए ।




यात्राकै क्रममा गत साउन २८ र २९ गते तनहुँका विभिन्न स्थानमा भेटघाट, जनसंवाद तथा अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न भएका छन् । साउन २८ गते बिहान भानु–५, सेपाबगैँचाका दुईवटा भेटघाट कार्यक्रमबाट सुरु भएको यात्रा जिल्ला समन्वय समितिको बैठकमा विशेष अतिथिका रूपमा सहभागिता जनाउँदै व्यास–६ हटिया, स्याम्घा र शिशाघाटमा आयोजित जनसंवाद कार्यक्रमहरूसम्म पुगेको उनले बताए ।

त्यस्तै साउन २९ गते बिहान ६ बजे पोखराबाट सुरु भएको यात्रा ऋषिङ र घिरिङ गाउँपालिकाका विभिन्न स्थानहरूमा १० वटा कार्यक्रम सम्पन्न भएको थियो । सोही क्रममा ऋषिङ–८ धारुङमा आयोजित कार्यक्रममा एक जना अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क ह्विलचेयर हस्तान्तरण गरिएको सांसद न्यौपानेले जानकारी दिए ।

विकास योजनाको कागजमा मात्र सीमित नभई जनताको प्रत्यक्ष आवश्यकता र सहभागिताबाट सम्भव हुने विश्वास व्यक्त गर्दै सांसद न्यौपानेले उत्साहपूर्ण उपस्थिति र अमूल्य सुझावका लागि तनहुँका सम्पूर्ण आमजनसमुदायप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन् ।












