भोटेकोसी बाढीमा परि भानु नगरपालिकाका १४ जना नागरिक वेपत्ता, वेपत्ता भएका नागरिकको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नगरपालिकाको अनुरोध

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ १६

गत भदौ १० गते रसुवा जिल्ला स्थित भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट भानु नगरपालिका घर भएका १४ जना नागरिक अझैसम्म सम्पर्क विहिन भएका छन् । बाढीको कारण रसुवा क्षेत्रमा विभिन्न पेशा तथा व्यवसाय गर्ने तथा भ्रमणमा गएका भानुका १४ जना नागरिक वेपत्ता भएका हुन् ।

बाढीको कारण हालसम्म सम्पर्क विहिन हुनेमा भानु नपा–८ की चिनुमाया खत्री, जलविद्युत आयोजनामा कार्यरत वडा नम्बर १० का सुजन नेपाली र अनिल नेपाली, वडा नम्बर १० कै हरि सेढाई, जलविद्युत आयोजनाका इन्जिनियरहरु वडा नम्बर ५ का दिपेश ढकाल र वडा नम्बर ९ का औरास भण्डारी, वडा नम्बर २ की सुष्मिता कुँवर, जलविद्युत आयोजनामा कार्यरत वडा नम्बर ४ का वर्नवास तामाङ र ज्ञानबहादुर तामाङ, रसुवा माइती गएकी वडा नम्बर १ की पुजा डंगोल (श्रेष्ठ), व्यापारिक कामले गएका वडा नम्बर १ का सन्जिव गुरुङ, मानसरोबर जाने भक्तालुहरुको उपचारमा खटिएका वडा नम्बर ९ का डा. आयुस अधिकारी, नेपाल प्रहरीमा कार्यरत वडा नम्बर ११ का विकास बाबु अधिकारी र जलविद्युत आयोजनामा कार्यरत वडा नम्बर १२ का गोविन्द अधिकारी रहेको भानु नगरपालिकाले जनाएको छ ।

भानु नगरपालिकाले बाढीको कारण वेपत्ता भएका नागरिकको खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन संघीय सरकारसँग अनुरोध गरेको छ । मंगलबार बसेको नगर विपद् व्यवस्थापन समितिको बैठकले पीडित परिवारजनको घाउमा मलम लगाउन तथा खोज, उद्धार र राहत कार्यलाई अझ प्रभावकारी बनाउन नेपाल सरकारसँग अनुरोध र हातेमालो गर्ने निर्णय गरेको छ ।

बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भानु नगरपालिकाको तर्फबाट ५ लाख जम्मा गर्ने निर्णय गरेको छ । साथै संघीय सचिव स्तरीय बैठकको निर्णय बमोजिम विभिन्न श्रेणीका बैठकले तोके बमोजिमका दिनहरूको दरले भानु नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूको मासिक तलबबाट ३६ लाख ५२ हजार हुने छ ।
यसैगरि बाढी पीडित नागरिकहरूको खोज, उद्धार तथा विपद् व्यवस्थापनका लागि भानु नगरपालिकाका जनप्रतिनिधिहरूले कम्तीमा पनि १० दिनको सेवा–सुविधा बराबरको रकम सहयोग गर्ने तथा अपुग हुने थप रकम भानु नगर विपद् कोषबाट व्यवस्थापन गरिने भएको छ ।

नगर प्रमुख एवम् नगर विपद व्यवथापन समितिका अध्यक्ष आनन्दराज त्रिपाठीको अध्यक्षतामा बसेको बैठकमा नगर उप प्रमुख ,राजनैतिक दल, कर्मचारी, सुरक्षा निकाय र सरोकार वाला निकायको सहभागिता रहेको थियो ।

यसैविच बाढीमा परि भानु नगरपालिकाका १४ जना नागरिक हालसम्म सम्पर्कविहीन रहेको हुँदा यस दुःखद घडीमा सम्पूर्ण नगरवासी, वडा कार्यालयहरू तथा संघ संस्थाहरूलाई तीजका सांस्कृतिक कार्यक्रम, दर खाने कार्यक्रम तथा अन्य कुनै पनि मनोरञ्जनात्मक एवम् सांस्कृतिक कार्यक्रमहरू नगर्न नगरपालिकाले अनुरोध गरेको छ ।

नगर प्रमुख आनन्द राज त्रिपाठीले विज्ञप्तिमा जारी गर्दै भनेका छन् ‘हाम्रा १४ जना नगरवासी अझै सम्पर्कविहीन रहेको यस दुःखद र कठिन परिस्थितिमा सिंगो मुलुक नै शोकाकुल छ । त्यसैले यस्तो विपद्को घडीमा सहानुभूति र गहिरो शोक प्रकट गर्दै तीजका दर खाने तथा कुनै पनि प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरू नगर्न सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौ ।’

नगरपालिकाले बेपत्ता नगरवासीहरूको सकुशल खोजीका लागि भइरहेका प्रयासहरूप्रति ऐक्यबद्धता जनाउँदै प्रभावित परिवारजनप्रति गहिरो सहानुभूति व्यक्त गरेको छ । बाढीका कारण घाइते तथा बेपत्ता भएका नागरिकहरूको खोजतलास र उद्धारका लागि नेपाल सरकार, सुरक्षा निकाय तथा विभिन्न सङ्घ–संस्थाहरू रातदिन खटिरहेको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा फसेका कर्मचारीका आफन्तलाई सांसद न्यौपानेको धैर्य धारण गर्न अपिलः ‘उद्धारका लागि २४ सै घण्टा प्रयास जारी’

तनहुँ । भदौ १६ भोटेकोसीको बाढीले प्रभावित भएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीका आफन्तजनलाई