तोकिएको मूल्यमा अण्डा बिक्री नभएपछि चितवनमा किसानहरु निरास

Devghat Online

शेयर गरौ

राजेश घिमिरे
चितवन
अण्डाको मूल्य नेपाल अण्डा उत्पादक संघले तोक्ने गर्छ । उत्पादन, बजारको माग तथा किसानको अवस्थाका आधारमा मूल्यमा परिमार्जन भइरहन्छ । त्यसैलाई आधार मानेर किसानले अण्डाको कारोबार गर्नुपर्ने हो । तर तोकिएको मूल्यमा अण्डा बिक्री नभएपछि चितवनमा किसानहरु निरास बनेका छन् ।

विचौलियाले अण्डाको बजार डामाडोल बनाएको उत्पादकहरु बताउँछन् । अण्डा उत्पादक संघले अहिले ठूलो अण्डाको मूल्य प्रतिक्रेट २ सय ७५ रुपैयाँ र सानोको २ सय २४ रुपैयाँ तोकेको छ । तर उत्पादकले प्रतिक्रेट २ सय रुपैयाँ पाउन पनि मुस्किल छ । कतिपयले त १ सय ९० रुपैयाँमा पनि बिक्री गर्ने गरेका छन् । लागत मूल्य उठाउन मात्रै प्रतिक्रेट ३ सय रुपैयाँमा बिक्री गर्नुपर्ने अवस्था रहेका उत्पादक बिचौलियाको दबाबमा एक सय रुपैयाँ भन्दा बढी घाटा खाएर अण्डा बिक्री गरिरहेको बताउँछन् ।

केही वर्षयता चितवनमा कुखुरा पालनमा नयाँ लगानी बढिरहेको छ । अण्डाको उत्पादन पनि बढ्दो छ । “कुखुरा व्यवसायमा लगानी बढ्दो छ । अण्डाको उत्पादन माग भन्दा पनि बढी छ”, अण्डा सप्लायर्स विमल पोखरेल भन्छन्, “बजारको माग हेरेर उत्पादन गर्नुप¥यो ।” तर उत्पादकहरु भने उत्पादन बढेर नभई बिचौलियाको चलखेलले अण्डाको मूल्य घटेको बताउँछन् । “बैंकले ताकेता गरिरहेको हुन्छ । हाम्रो अण्डा हप्तौं सम्म नउठ्दा तिर्ने उपाय हुँदैन”, अण्डा उत्पादक किसान अरुणा राउत थापा, “कम पैशामा भने नि उठाइदेउ भन्नुपर्ने बाध्यतामा किसान पर्ने गरेका छन् ।” आधिकारिकरुपमा कामगर्ने सप्लायर्सहरु बिच एकता नहुँदा विचौलियाले बजार कब्जा गरिरहेको उत्पादकहरु बताउँछन् ।

एक वर्ष अघि ठूलो अण्डाको मूल्य किसानले ३ सय २० रुपैयाँ पाउँथे । अहिले ह्वात्तै घटेको छ । उपभोक्ता मूल्य भने एक वर्ष अघिकै छ । बजारमा अण्डा प्रतिगोटा १५ रुपैयाँ पर्छ । सानो अण्डाको मूल्य १ सय ५० सम्म पुगेको छ । दानाको मूल्य भने बढ्दो क्रममा छ । प्रति किलो ४२ बाट बढेर ५३ पुगेको छ । दाना बनाउनका लागि प्रायः कच्चा पदार्थ भारतबाट आयात गर्नुपर्छ । मकै, भटमास, सुर्यमूखी पिनालगायतका कच्चा पदार्थमा १० देखि ५० प्रतिशत सम्म मूल्य बढेका कारण तयारी दानाको मूल्य बढेको उत्पादक बताउँछन् । कुखुराका लागि आवश्यक औषधीमा पनि २० प्रतिशत सम्म मूल्यवृद्धि भएको छ । सबै बस्तुको मूल्य बढ्दा पनि अण्डाको मूल्य भने घटेको भन्दै किसानहरु आक्रोशित बनेका छन् ।

अण्डा फालेर आन्दोलन गर्ने चेताबनी

लागत मूल्य नपाएपछि आक्राशित बनेका अण्डा उत्पादक किसानहरुले आन्दोलनको चेताबनी दिएका छन् । उनीहरुले यसै अवस्था रहिरह्यो भने सडकमा अण्डा फालेर आन्दोलन गर्ने चेताबनी दिएका छन् ।

किसानको आन्दोलन पछि दूध, उखुको माग बढेको भन्दै उनीहरुले आन्दोलन गरेरै भएपनि मूल्य बढाइछाड्ने बताए । अण्डा उत्पादकका समस्यामा सरकारले कुनै वास्ता नगरेको भन्दै उत्पादकले आवश्यक परे मन्त्रालय घेर्ने चेताबनी दिए । नेपाल अण्डा उत्पादक संघका अध्यक्ष शिवराम केसीले अण्डाको बजारमा विचौलियाको राज अन्त्य गर्न अब सबै किसान एकजुट हुनुपर्ने बताए । सरकारसँग उत्पादकका समस्या बारे कुरा भइरहेको भन्दै उनले मागबारे नसुने सडकमै उत्रने चेताबनी दिए । “हामीलाई किसानले पनि साथ दिनुप¥यो”, केसीले भने, “हामी उच्चस्तरीय समिति नै बनाएर अनुगमनलाई पनि कडा बनाउँछौं ।”
काठमाडौं, चितवन र हेटौंडामा अण्डाको मूल्य कार्यान्वयनमा समस्या देखिएको छ । दाउन्ने पश्चिमको क्षेत्र र हेटौंडा पूर्वको क्षेत्रमा भने अण्डाको मूल्यमा खासै समस्या छैन । प्रायः ठाउँमा तोकिएकै मूल्यमा अण्डा बिक्री भइरहेको छ । “चितवनका उत्पादकका कारण हामीलाई समेत गाह्रो भयो”, नवलपरासी बर्दघाटका अण्डा उत्पादक भिमकाजी गुरुङले चेताबनी दिंदै भने, “अब पनि यस्तै अवस्था रहने हो भने हामी यहाँको अण्डा दाउन्ने कटेर पश्चिम जान दिंदैनौं ।” नवलपरासीका अधिकांश उत्पादकहरुले चितवनका उत्पादक र बितरक बिचको समस्याले देशभरको व्यवसाय बिग्रिएको आरोप लगाएका छन् ।

“चितवन, मकवानपुर, काठमाडौंलगायतका ठाउँमा उत्पादन बढी भएर पनि समस्या देखिएको हो”, पोल्ट्री व्यवसायी मदन पोखरेलले भने, “अण्डा उत्पादन संघको निष्कृयता, किसानहरु बिचको आपसी समन्वयको अभाव लगायतका कारण पनि अण्डाको मूल्यमा असर परिरहेको छ ।” उनले मूल्य निर्धारण गरेपनि यसको कार्यान्वयन भए नभएको बारे संघले अनुगमन नै नगरेका कारण मूल्यमा एकरुपमता आउन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू