१३ असार, देवघाट
देवघाट गाउँपालिका–५ सुन्दरशिल टोल बिकास अन्तरगत रहेको मधुचन्द्र कृषि फार्ममा शनिबार १ सय ५० विरुवा रोपण गरिएको छ । सो वृक्षरोपण कार्यक्रमको वडा नम्बर ५ का अध्यक्ष यालबहादुर गुरुङले आँपको विरुवा वृक्षरोपण गरि कार्यक्रमको उदघाटन गरेका थिए ।
करिब १० रोपनी क्षेत्रफलमा गरिएको वृक्षरोपणमा ५० लिची विरुवा, ३० आँपका विरुवा, २० मेवाको विरुवा, २० कागती विरुवा, १० वयर, १० जामुन विरुवा र १० अम्बाको विरुवा रहेको मधुचन्द्र कृषि फार्मका प्रोप्राईटर चन्द्रप्रकाश दवाडीले जानकारी दिए ।
सो कार्यक्रममा देवघाट उद्योग बाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठ, देवघाट सामुदायिक सेवा केन्द्र एवं प्रहरी सेवा केन्द्रका अध्यक्ष होमबहादुर भारती, देवपुर सामुदायिक होमस्टेका सचीव ऋृषिराम सुवेदी, देवघाट सुन्दरशिल टोल बिकास सस्थाका अध्यक्ष श्रीलाल गुरुङ र श्याम बगाले लगायतले बृक्षारोपण गरेका थिए ।
सामुदायीक वन भित्र बृक्षारोपण
यसैगरि देवघाट–५ को कालिका सामुदायिक वनको उपभोक्ता समितिले शुक्रबार वन क्षेत्र भित्र एक हजार विरुवा रोपण गरेको छ । सो कार्यक्रमको उद्घाटन भने कालिका सामुदायिक वनका जेष्ठ नागरिक ८५ वर्षिय बसुन्धरा पाण्डेले बेलको विरुवा वृक्षरोपण गरि उदघाटन गरेकी थिईन् ।
सो सामुदायिक वनको करिब पन्ध्र रोपनी क्षेत्रफलमा गरिएको वृक्षरोपणमा दालचिनी एक सय ५० वटा, वेल एक सय ५० वटा, असोका दुई सय वटा, सुगन्ध कोकीका एक सयवटा, अम्रिसो तिन सय वटा र पारिजात सय वटा रहेको छ । ति सबै विरुवा डिभिजन वन कार्यालय तनहुँले उपलब्ध गराएको कालिका सामुदायीक वन उपभोक्ता समुहका अध्यक्ष भोजराज नैनावस्तीले जानकारी दिए ।