२९ असार, दमौली
आईतवार रातीदेखी परेको अविरल बर्षाका कारण आएको पहिरोमा परेर तनहुँमा ६ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएका छन् । पहिरोमा परी व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, उनका छोरा २४ वर्षीय मनोज र छोरी २१ वर्षीया अञ्जना, सोही ठाउँकै ७० वर्षीया मैतकुमारी घर्ती, म्याग्दे गाउँपालिका ६ की १७ बर्षिया लक्ष्मी विकको मृत्यु भएको छ भने ऋषिङ गाउँपालिकाका ५ जना अझै हराईरहेका छन् ।

म्याग्दे गाउँपालिका–६ बेलतौडाँडामा घरमाथीबाट आएको पहिरोले पुरिएर तिलबहादुर विककी १७ बर्षिया छोरी लक्ष्मी विकको ज्यान गएको वडा अध्यक्ष बसन थापाले बताए । परिवारका सात जना सदस्यले भने भागेर ज्यान जोगाउन सफल भएका छन् । यस्तै म्याग्दे खोलाले तुरतुरेमा अशोक भण्डारीको घर बगाएको छ । मानवीय क्षती भने भएको छैन ।




ऋषिङ गाउँपालिका–८ पल्ट्याङस्थित भैसीकिलीमा पहिरोले घर बगाएको थियो । सो घटनामा एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । राती १ बजे घरमाथि रहेको सडकबाट खसेको पहिरोले स्थानीय आनबहादुर थापाको घर बगाएको हो ।

पहिरोमा परि उनका दुई छोरा, दुई बुहारी र एक नातिनी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी युवराज तिमिल्सेनाले बताए । वेपत्ता भएकाहरुको खोजी भईरहेको छ ।

बाढि तथा पहिरोले तनहँुका अधिकांश ग्रामिण सडक अवरुद्ध भएका छन् । ऋषिङ गाउँपालिका जोड्ने ऋङ्गपथ, भिमाद नगरपालिकाको भिमकाली मार्ग लगायत लामो दुरीका सडकहरु अवरुद्ध हुँदा सदरमुकामसँग सम्पर्क विच्छेद भएको छ । सदरमुकाम नजिकैको बुल्दी खोला बढ्दा वरपरका बस्तीहरु निकै प्रभावित भएका छन् । खोला किनारका बस्तीहरु डुवानमा परेका छन् ।













