१९ साउन, देवघाट
देवघाट गाउँपालिका वडा नम्बर ५ भतेरीका प्रदीप परियार विगत एक महिनादेखि भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका उपचाररत छन्। ऐलानी जग्गामा बस्दै आएका परियारको उपचारको लागि आर्थिक समस्या परेपछि परिवारले सहयोगको लागि अपिल गरेको छ ।
आफू बस्दै आएको चार आना जग्गा पनि बिक्री गरेर उपचारमा खर्च भइसकेकोले उपचारको स्रोत नै सकिएको आमा जालुमायाले बताइन्। ‘सुकुम्बासी बस्तीमा भएको जग्गा पनि आनाको ५० हजारको दरले बेचेर उपचारमा खर्च गरियो, अझै पुगेन,’ उनले भनिन्, ‘अब त आर्थिक स्रोत नै सकिसकेकोले कसैले सहयोग गरिदिए जवान छोरोको जीवन रक्षा हुन्थ्यो कि भन्ने लागेको छ।’



हालसम्म छोरोको उपचारमा करिब छ लाख रूपैयाँ खर्च भइसकेको उनले बताइन्। जग्गा बेचेर पनि उपचार खर्च नपाएपछि ऋण गरेर खर्चको जोहो गर्दै आए पनि ऋणमाथि ऋण गर्न सक्ने अवस्था नरहेको उनको भनाइ छ। ‘घरमा बुबा र दाइ पनि अस्वस्थ छन्,’ उनले भनिन्, ‘दुःखजिलो गरेर घर धान्दै आएको छोरो नै थला परेपछि परिवारमा ठूलो समस्या पर्यो।’
असार २४ गतेबाट अस्पताल बस्न थालेका प्रदीपलाई आमा र भिनाजु महेश दर्जीले हेरचाह गरिरहेका छन्। आमा एक्लैले स्याहार गर्न नसक्ने भएपछि गाडी चालकको रूपमा काम गरिरहेका दर्जी पनि २३ वर्षिय सालोको हेरचाहमा व्यस्त छन्।
‘अस्पतालमा पनि हेर्ने मान्छे कोही छैन, सालोको उपचारमा लाग्नुपर्ने भएपछि रोजगारी पनि गुम्यो,’ उनले भने, ‘अब त आफैँ पनि कहाँ जाने, के खाने भन्ने अवस्थामा आइपुगेको छु।’ आफूसँग भएको पनि सालोको उपचारमा सकिएको उनको भनाइ छ।
खासमा प्रदीप २०७५ सालमा पनि बिरामी भएका थिए। घाँटीको क्यान्सरबाट ग्रस्त रहेका उनी किमोथेरापी गरेपछि निको भएका थिए। विगत दुई महिनायता फेरि पुरानै रोग बल्झिएपछि एक महिनादेखि अस्पतालमा बास बस्नुपरेको हो। अवस्था सुधार हुँदै आए पनि उपचार खर्चमा लागेको ऋण र बाँकी उपचार कसरी गर्ने भन्नेमा चिन्ता थपिएको प्रदीपका भिनाजु महेशको भनाइ छ।
चितवन पोष्टबाट साभार












