२७ साउन, दमौली
जिल्ला प्रशासन कार्यालय तनहूँले भानु नगरपालिका क्षेत्रभित्र कोरोना जोखिम न्यूनीकरणका लागि यातायात र पसल बन्द गर्ने निर्णयलाई कार्यान्वयन गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
भानु नगरपालिका–१ का स्थानीय व्यक्तिमा सोमबार कोरोना पुष्टि भएपछि मंगलबारदेखि भानु नगरपालिका कार्यालय, सम्पूर्ण वडा कार्यालय, सङ्घसंस्था, बैङ्क तथा वित्तीय संस्था, यातायात र पसलहरु बन्द गर्ने निर्णय गरिएको छ । नगरपालिकाले गरेको उक्त निर्णयलाई कार्यान्वयन गर्न गराउन प्रशासन कार्यालयले सम्बन्धित सबैलाई निर्देशन दिएको हो ।



प्रशासनले उक्त निर्णय कार्यान्वयन गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै उक्त निर्णयको पालना नगरेको पाइएमा सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने जनाएका छन् ।
त्यसैगरि मंगलबार नै बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले तनहुँ जिल्ला बाहेकको भ्रमण विवरण नभएका भानु नगरपालिकाका स्थानीय व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएकाले सङ्क्रमण समुदायमा फैलिन सक्ने सम्भावना देखिएकाले स्वास्थ्य सेवा र विपद् व्यवस्थापन कार्य बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको सहायक प्रजिअ बरालले जानकारी दिए ।












