३ भदौ, दमौली
जिल्ला प्रशासन कार्यालय तनहुँले देवघाट गाउँपालिका सहित शुक्लागन्डकी नगरपालिका र भिमाद नगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । प्रशासनले बुधबार साँझ सुचना प्रकाशन गरि देवघाट गाउँपालिकाको वडा नम्बर ५ को सम्पुर्ण क्षेत्र, शुक्लागन्डकी नगरपालिकाको वडा नम्बर २ देखी वडा नम्बर ९ सम्मको सम्पुर्ण क्षेत्र र भिमाद नगरपालिकाको सम्पुर्ण क्षेत्रमा बुधबारदेखी भदौ १० गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमण समुदायमा फैलन सक्ने परिस्थिति सिर्जना भएकाले कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले उक्त तिन स्थानीय तहमा बुधबार राति १२ बजेदेखि भदौ १० गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरेको हो ।



स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम ती स्थानहरुमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिए । उक्त निर्णय कार्यान्वयन नगरेमा सङ्क्रामक रोग ऐन, २०२० को दफा ३ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम कारवाही गरिने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक सेवा बाहेकका नियमित सेवा, बैङ्क तथा वित्तीय संस्थाबाट प्रदान गरिने बाह्य सेवा, सामाजिक सङ्घसंस्थाले सञ्चालन गर्ने कोभिड नियन्त्रण एवं स्वास्थ्य सुरक्षा बाहेक अन्य कार्य र उद्योग, कलकारखाना र अन्य व्यवस्थापन बन्द रहनेछन् ।
निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवा, स्वास्थ्य सेवा, सरसफाई सेवा र विपद् व्यवस्थापन सेवासँग सम्बन्धित कार्यहरु भने सञ्चालन गर्न पाइनेछ । त्यस्तै राष्ट्रिय राजमार्गमा सञ्चालन हुने सवारी साधन, सरकारी कार्यालय र सार्वजनिक निकायका नियमित कार्य, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई, भौतिक दूरी कायम गरी सञ्चालन गर्ने औषधि र औषधिजन्य पसल, खाद्य सामग्री पसल, फलफूल, तरकारी र दुग्धजन्य पसल, एम्बुलेन्स, शववाहन, खाद्य ढुवानी, औषधि, फलफूल, कुखुराको चल्ला, मासु, तरकारी, दुग्ध पदार्थ, पानी र इन्धन बोकेका सवारी साधन, कुटनीतिक नियोग र झण्डावाला सवारी साधन, सरकारी नम्बर प्लेटका र जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त सवारी साधनहरु सञ्चालन हुनेछन ।
यस अघि देवघाट गाउँपालिकाको वडा नम्बर ५ मा गाउँपालिकाले गरेको एक साताको लकडाउन बुधबारबाट सकिएको थियो । प्रशासनको निषेधाज्ञा पछि अव पुनः १० गतेसम्म बन्द हुने भएको छ ।
तनहुँको भानु नगरपालिका, व्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिकाका समुदाय स्तरका व्यक्तिमा कोरोना पुष्टि भएको छ । भानु नगरपालिकामा २४, व्यास नगरपालिकामा ७, शुक्लागण्डकी नगरपालिकामा एक, देवघाट गाउँपालिकामा तीन, बन्दीपुर गाउँपालिकामा एक जना समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको छ ।












