नेगेटिभ रिपोर्ट आउदा पनि सामाजिक बहिष्कार !

Devghat Online

शेयर गरौ

४ भदौ, दमौली
पिसिआर रिर्पाेट नेगेटिभ आउँदा पनि तनहूँको भानु नगरपालिका–११ मा नगरपालिकाका एक प्राविधिक र स्वास्थ्यकर्मी नै सामाजिक बहिष्कारमा परेका छन् । एकैसाथ स्वाब संकलन गरिएका सँगै काम गर्ने एक इन्जिनियरलाई कोरोना पोजेटिभ देखिएपछि वडा अध्यक्ष र टोल विकास संस्थाका अध्यक्ष सहितका गाउँलेले ति प्राविधिक र उनलाई घरमा आश्रय दिने उनकी दिदिलाई सामाजिक बहिष्कार गरेको पीडितहरुले बताएका छन् ।

पिसिआर परिक्षणमा नेगेटिभ रिपोर्ट आएका नगरपालिकाका ओभरसियर सन्दिप अधिकारी र उनकी दिदी रुपाकोट स्वास्थ्य चौकीमा कार्यरत अनमी अन्जना अधिकारी पौडेललाई टोल विकास संस्थाले नै निर्णय गरेर घर भित्रै नजरबन्द गरेको छ । आफ्नो रिर्पाेट नेगेटिभ आएपनि अधिकारी केही दिन क्वारेन्टाइनमा बस्ने गरि घर आएका थिए । तर आफ्नो घर साँघुरो भएको कारण नजिकै रहेको दिदिको घरको धन्सारमा बस्न अधिकारी गएका थिए । तर गाउँलेहरुले कोरोना संक्रमितसँग बसेर आएको भन्दै अधिकारीलाई घरमा नराख्न आफुलाई दवाव दिएको अन्जनाले बताईन् ।

‘भाईको लागि छुट्टै धारा र सौचालयको व्यवस्था गरेको थिएँ’, अन्जनाले भनिन् ‘तर गाउँलेहरुले भाईलाई घरमा बस्न दिएको भन्दै मलाई पनि घरबाट बाहिर ननिस्कन दवाव दिए ।’ वडा अध्यक्ष तारानरेश पौडेलको उपस्थितीमा भएको टोल विकास संस्थाको बैठकले नै आफुलाई पनि घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाएको उनले बताईन् ।

आफु स्वास्थ्य संस्थामा कार्यरत रहेको र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेको बताउँदा पनि टोलबिकास संस्थाका पदाधिकारीले घरबाट बाहिर निस्कन नदिएको, पशु चौपायलाई घाँस पानी हाल्न जान पनि नदिएको गुनासो गरिन् । आफ्नो पिसिआर रिपोर्ट नेगेटिभ आएको तर आफु स्वेच्छाले केही दिन क्वारेन्टाइनमा बसेको भन्दै सन्दिपले यहि निहुँमा आफुहरु दिदी भाईलाई नै अमानवीय व्यवहार गरिएको बताए ।

आफुहरुलाई अमानवीय व्यवहार भएको हुदा दोषीहरूलाई प्रचलित कानुन अनुसार कारवाही गर्न माग गर्दै सन्दिप र अन्जनाले जिल्ला प्रशासन कार्यालयमा निबेदन दिएका थिए । निबेदन परेपछि प्रशासनले यसबारेमा बुझ्न इलाका प्रहरी कार्यालयका डुम्रेका इन्चार्ज प्रहरी निरिक्षक जितेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी टोली घटना स्थल पठाएको थियो । वास्तविक कुरा बुझेर दोषीलाई नियन्त्रणमा लिएर आउन समेत प्रहरी टोलीलाई निर्देशन सहित प्रशासनले घटनास्थलमा पठाएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले बताए ।

प्रहरी टोली गाउँमा पुगेपछि गाउँलेहरुले आफुहरुबाट गल्ति भएको भन्दै अव आयन्दा यस्तो कमजोरी नगर्ने भनी माफी मागेका थिए । टोल विकास संस्थाका पदाधिकारीहरुले आफुहरुले अव कसैलाई पनि कोरोनाको नाममा बहिष्कार नगर्ने र समाजमा मिलेर बस्ने प्रतिबद्धता जनाएका थिए । प्रहरीको उपस्थितीमा गाउँलेहरुले माफी मागेपछि दुबै पक्ष विच सहमती भएको पीडित अन्जनाले बताईन् । अव आफु शुक्रबारबाट नियमितरुपमा स्वास्थ्य चौकी जाने र भाई पनि आज नै आफ्नो घरमा जाने उनले बताईन् ।

वडा अध्यक्ष पौडेलले भने यो घटनामा आफ्नो कुनै संलग्नता नभएको बताए । गाउँका अन्य व्यक्तिलाई कोरोना संक्रमण नहोस् भनेर सजगता अपनाईएको उनले बताए ।

यसैविच भानु नगरपालिका स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकर्मीलाई नै सामाजिक बहिष्कार गर्ने कामको नेतृत्व गर्ने वडा अध्यक्ष तारानरेश पौडेल र टोल सुधार समितिका अध्यक्ष शालिकराम अधिकारीलाई कानुनी कारवाही गर्न माग गरेका छन् । स्वास्थ्यकर्मीहरुले विहिबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै यस्तो अमानवीय काममा संलग्न वडा अध्यक्ष, टोल सुधार समितिका अध्यक्ष लगायत घटनामा संलग्नहरुलाई कारवाही गर्न माग गरेका हुन् ।

स्वास्थ्यकर्मीहरुको तर्फबाट जनस्वास्थ्य निरिक्षक शिवराम मिश्र, जनस्वास्थ्य अधिकृत जेनी रानामगर, अहेव जितेन्द्र श्रेष्ठ, सिनिअर अहेव सुभाष देवकोटा, अहेव निर्मल अधिकारी, अहेव सन्तोष श्रेष्ठले संयुक्त रुपमा ज्ञापनपत्र बुझाउँदै कोभिड–१९ को माहामारीमा पनि निस्वार्थरुपमा स्वास्थ्य सेवामा खटिएकी स्वास्थ्यकर्मी तथा निजको भाई नगरपालिकाका प्राविधिकलाई नगरपालिकाले गरेको पिसिआर परिक्षणमा रिर्पाेट नेगेटिभ आउँदा पनि सामाजिक बहिष्कार जस्तो अमानवीय कार्य गरेको बताएका छन् ।

यस घटनाका दोषीहरुलाई कारवाही नभएको खण्डमा स्वास्थ्यकर्मीहरु काम ठप्पपारी आन्दोलनमा उत्रन बाध्य हुने ज्ञापनपत्रमा जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाटधाम जेसीजको प्रभावकारी भाषणकला सम्बन्धी तालिम सम्पन्न

देवघाट । बैशाख १३ देवघाटधाम जेसीजको आयोजनामा प्रभावकारी भाषणकला सम्बन्धी तालिम कार्यक्रम देवघाट–५ स्थित कालीगण्डकी