२६ दिनपछि सन्चालन भयो बुद्धसिंह मार्ग

Devghat Online

शेयर गरौ

११ भदौ, दमौली
गत असार अन्तिम साता र साउन पहिलो साता परेको अविरल बर्षाले अवरुद्ध भएको बुद्धसिंह मार्ग २६ दिनको प्रयास पछि मंगलबार साँझबाट सन्चालनमा आएको छ । गन्डकी प्रदेशको राजधानी पोखरा र तनहूँ सहित अन्य जिल्लालाई चितवनको नारयणगढसँग जोड्ने सबैभन्दा छोटो दुरीको बुद्धसिंह मार्ग पहिरोको कारण अवरुद्ध हुँदै आएको थियो ।

उक्त सडकको व्यास नपा १३ को बेलबास देखी आवुँखैरेनी गाउँपालिकाको घुमाउनेसम्म ६५ स्थानमा साना÷ ठुला पहिरोले सडक अवरुद्ध भएको बन्दिपुर गाउँपालिका–६ निवासी सिद्धान्त थापा मगरले बताए । अवरुद्ध सडकको पहिरो साउन दोश्रो साताबाट पन्छाउन सुरु गरेकोमा मंगलबार साँझमात्र सबै पहिरो पन्छाउन सकिएको थापाले जानकारी दिए ।

सडकको पहिरो पन्छाउन सामाजिक कार्यकर्ता थापा निरन्तर खटिनु भएको थियो । तत्काल पहिरो पन्छाई सडक सुचारु गर्न आफु सहितका गाउँलेहरु गन्डकी प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, बन्दिपुर गाउँपालिका र सडक डिभिजन कार्यालयमा दर्जनौं पटक डेलिगेशन भएको थापाले बताए ।


पहिरोले सडक अवरुद्ध हुँदा व्यास नगरपालिकाको वडा नम्बर १३ र १४ को केही भाग, बन्दिपुर, आवुँखैरेनी, ऋषिङ र देवघाट गाउँपालिकाका अधिकांश वडाका हजारौं नागरिकहरुलाई सदरमुकाम दमौली तथा चितवनको भरतपुर जान निकै समस्या पर्दै आएको थियो । विशेषगरि महिला, बालबालिका, जेष्ठ नागरिक तथा, सुत्केरी र अशक्तहरुले उपचारकोलागि तथा अन्य काममा सदरमुकाम आउन निकै सास्ती भोग्नु परेको थापाले बताए ।
पहिरो पन्छाउन बन्दिपुर गाउँपालिकाले पाँच लाख रुपैयाँ उपलब्ध गराएको थियो भने गन्डकी प्रदेश सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले पाँच लाख रुपैयाँ उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । सोही रकमबाट दुई वटा एक्साभेटर भाडामा ल्याई निरन्तर पहिरो पन्छाउने काम गरिएको थापाले जानकारी दिए ।

सडक डिभिजन कार्यालय दमौलीका इन्जिनियर एवं सुचना अधिकारी सचिन श्रेष्ठले पनि करिब एक महिनाको प्रयासमा उक्त सडकको पहिरो हटाउन सकिएको बताए । पहिरो हटाउने काममा प्राविधिक सहयोग सडक डिभिजन कार्यालय तनहँुले गरेको थियो । तनहँुका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले उक्त जिर्ण सडकको निरिक्षण गरि यथासक्य पहिरो पन्छाएर सडक सुचारु गर्न सम्बन्धित सरोकारवाला निकायलाई निर्देशन दिएका थिए ।

उक्त सडक हुँदै दमौलीबाट चितवनको नारयणगढ पुग्न अहिले सन्चालन भईरहेको डुम्रे–आवुँखैरेनी–मुग्लिङ–नारयणगढ सडक भन्दा करिब २४ किलोमिटर छोटो पर्छ । उक्त सडकको घुमाउनेमा मोटरेवल पुल निर्माण भईरहेको र पुल निर्माणपछि मुग्लिङ–नारयणगढ सडकमा निस्किएर नारयणगढ तर्फ जान सकिन्छ ।

हाल झोलुङ्गेपुलबाट पैदल यात्री तथा मोटरसाईकल मार्फत मुग्लिङ–नारयणगढ सडक हुँदै गन्तव्य जान सकिन्छ । उक्त सडकलाई गन्डकी प्रदेश सरकारले प्रदेशको गौरवको सडकको रुपमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू