डिभाईस प्रयोग गरि पहिलो पटक बाख्रामा कृत्रिम गर्भाधान

Devghat Online

शेयर गरौ

१३ भदौ, दमौली
तनहूँमा पहिलो पटक डिभाईसको प्रयोग गरि बाख्रामा कृत्रिम गर्भाधान गराईएको छ । भिमाद नगरपालिका–९ पाथर्दी र जौपानीका कृषकले पालेको बाख्रामा पहिलो पटक डिभाईस प्रविधिको प्रयोग गरि कृत्रिम गर्भाधान गराईएको हो । सुई (इन्जेक्सन) मार्फत यस अघि कृत्रिम गर्भाधान गरिँदै आएकोमा डिभाईसको प्रयोग गरि पहिलो पटक गर्भाधान गराईएको पशु चिकित्सकहरुले बताएका छन् ।

भिमाद नगरपालिकाका पशु प्राविधिकले विहिबार पाथर्दी र जौपानीका ३० वटा माउ बाख्रामा डिभाईसमा मार्फत कृत्रिम गर्भाधानको प्रक्रिया गराएका हुन् । उन्नत जातको बोकाको बिर्य राखिएको सिआईडिआर नामको डिभाईस बाख्राको पाठेघरको मुखमा राखेर १८ दिन पछि झिक्ने र त्यसपछि गर्भाधानको प्रक्रिया सुरु हुने भिमाद नगरपालिकाका पशु शाखा प्रमुख मुक्ती पौडेलले बताए ।

उक्त डिभाईस राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराले उपलब्ध गराएको थियो । उक्त प्रविधिको प्रयोगमा जिल्लामा नै पहिलो पटक भएको उनको भनाई छ । कृषकले बिदेशबाट बोयर जातको बिउ बोका ल्याएर उक्त जातको बाख्रा उत्पादन गर्दा निकै महङ्गो पर्ने हुँदा त्यही बोयर बोकाको बिउ डिभाईस मार्फत बाख्राको पाठेघरमा पठाएर कृत्रिम गर्भाधान गराउने प्रविधि सुरु गरिएको पौडेलले बताए ।

बोयर जातको बिउ बोकाको खरिद निकै महंगो पर्ने हुँदा कृषकले चाहेर पनि खरिद गर्न नसक्ने हुँदा कृत्रिम गर्भाधानको कार्यक्रम ल्याईएको उनको भनाई छ । जिल्लामै पहिलो पटक उक्त प्रवधिको प्रयोग गरिएको हुँदा पशु प्राविधिकहरुले यसलाई परिक्षणको रुपमा लिएका छन् । पशु प्राविधिक पौडेलले यो कार्यक्रम सफल भएमा जिल्लाका अन्य ठाउँमा पनि लागु गर्न सकिने बताए । पहिलो पटक भएको हुँदा धेरै कृषकले कृत्रिम गर्भाधानको प्रयोग गर्न अलि अप्ठ्योरो मानेको पौडेलको अनुभव छ । यो प्रविधिको कृत्रिम गर्भाधान सफल भएमा बाँकी कृषकहरु उत्साहित हुन सक्ने उनको अनुमान छ ।

पाथर्दीका बाख्रा पालक कृषक शिवकुमार आलेले डिभाईस प्रविधिको कृत्रिम गर्धाधानको कार्यक्रम पहिलो पटक भएको हुँदा धेरै कृषकहरु यसबारेमा अनभिज्ञ रहेको बताए । तर कृषकहरुले यस प्रविधिलाई उत्साहितरुपमा हेरेको भन्दै यो कार्यक्रम सफल भएमा अन्य कार्यक्रमहरु पनि यसमा आकर्षित हुने बताए ।

कृत्रिम गर्भाधान मार्फत पाठापाठी उत्पादन गर्दा कृषकलाई सस्तो पनी पर्ने र एकै समयमा कृत्रिम गर्भाधान गराउँदा एकै समयमा पाठापाठी उत्पादन हुने हुँदा त्यसले बजारलाई पनि सन्तुलनमा राख्न सक्ने बताए । एकै समयमा पाठापाठी उत्पादन हुँदा बजारमा मासुको अभाव नहुने उनको भनाई छ ।

भिमाद नगरपालिकाले चालु आर्थिक वर्षमा कृत्रिम गर्भाधानको कार्यक्रम ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनसिंह थापाले बताए । उनले कृषकलाई बाख्रा पालनमा आकर्षित गर्न यो कार्यक्रम ल्याईएको बताए । नगरपालिकाले कृत्रिम गर्भाधान कार्यक्रमकोलागि चालु आर्थिक वर्षमा तिन लाख रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिए ।

जिल्ला पशु सेवा विज्ञ केन्द्र तथा भेटेरेनरी अस्पताल तनहँुका प्रमुख डा. बालकुमार श्रेष्ठले बाख्राको कृत्रिम गर्भाधानमा यो सिआईआरडी डिभाईसको प्रयोग जिल्लामा पहिलो गरिएको बताए । कार्यालयले सुई मार्फत गर्भाधानको कार्यक्रम विगतदेखी नै गर्दै आएको भन्दै उनले डिभाईसको प्रयोग पहिलो पटक भएको हुँदा यसबारेमा कृषकहरु अनभिज्ञ भएको बताए ।

हिटसिन क्रोईनाजेसन (एक्रकालिन कृत्रिम गर्भाधान) नामको यो कार्यक्रम बाख्राको पाठेघरमा हर्माेन दिने प्रविधि भएको डा. श्रेष्ठले बताए । यो प्रविधि सफल हुने वा नहुनेमा बाख्राको शारीरिक अवस्थाले निर्धारण गर्ने उनले बताए । साथै बाख्राको पोषण तथा समयले पनि यसमा निर्धारण गर्ने उनको भनाई छ । साथै डिभाईस लगाउने प्राविधिक तालिम प्राप्त र दक्ष हुनु पर्ने उनको भनाई छ ।

हालसम्मको प्रयोगमा ३० देखी ४० प्रतिशतको हाराहारीमा बाख्राको कृत्रिम गर्भाधान सफल भएको डा. श्रेष्ठले बताए । तर सुई मार्फत भन्दा डिभाईसको प्रयोगले कृत्रिम गर्भाधान सहज हुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू