हाय मेरो सपना !

Devghat Online

शेयर गरौ

कविता
हाय मेरो सपना !
कोपिला हुँ म फक्रेर हाँस्दै म फुल्न सकिनँ
ज्ञानको ज्योति निभेर गयो म खुल्न सकिनँ
म बन्छु भन्थेँ देशका निम्ति अमूल्य गहना
कोरोना आइ उडाइ लग्यो हाय मेरो सपना
बसेको छु म कसुर बिना घरको जेलमा
किताब कापी कलम बिना जिन्दगी फेलमा
कलम समाइ देशको शिर उठाउने चाहना
कोरोना आइ उडाइ लग्यो हाय मेरो सपना
म सिक्न खोज्छु जीवनको सङ्गीत म गुरु पाउदिनँ
म खेल्न खोज्छु प्रकृति काखमा म सङ्गी पाउदिनँ
गुरुबा आमा साथी र सङ्गी झल्झली सम्झना
कोरोना आइ उडाइ लग्यो हाय मेरो सपना
सत्ताको नशा लागेको मान्छे शक्तिको उन्माद
पैसाले हुन नदिने रैछ दिलको संवाद
बुझेर सेवा म गर्छु भन्थेँ दुखीका भावना
कोरोना आइ उडाइ लग्यो हाय मेरो सपना
लौ व्याप्त भयो जगतै भरी कोरोना सन्त्रास
यो युद्ध जित्न लिनु नै पर्छ अदम्य साहस
फुलेर सुवास म छर्न पाऊँ गर्दछु प्रार्थना
कोरोना आइ उडाइ लग्यो हाय मेरो सपना
(लेखक शिक्षण पेशामा आबद्ध हुनुहुन्छ ।)
(विद्यालय बन्द हुँदा विद्यालयस्तरका विद्यार्थी बाबुनानीहरूले के सोचिरहेका छन् त ? विद्यालय गएर पढ्न नपाउँदा उनीहरूका मनमा उत्पन्न पीडालाई कविता मार्फत प्रस्तुत गर्ने प्रयास गरेको लेखक बताउँनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू