२२ भदौ, दमौली
किर्ते नागरिकता मुद्धामा तनहूँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका–५ का वडा अध्यक्ष प्रकाश मल्ललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । मल्ललाई इलाका प्रहरी कार्यालय डुम्रेबाट गएको प्रहरी टोलीले घरबाट नै पक्राउ गरेको हो ।
मल्लले २०५४ सालमा साविक गजरकोट गाविस वडा नम्बर ४ (हाल घिरिङ गाउँपालिका) का अम्बरबहादुर थापाको छोरा राजु थापालाई भानुका होमबहादुर थापाको छोरा भन्ने झुटो विवरण बनाई नागरिकताको प्रमाणपत्र निकाल्न सहयोग गरेको आरोप लागेको थियो ।



नागरिकताको किर्ते गरेको सोही मुद्धामा जिल्ला अदालतले मल्ललाई २०५५ बैशाख २० गते दोषी ठहर गरेको थियो । अदालतले मल्ललाई एक वर्ष कैद फैसला गरेको थियो । तत्कालिन जिल्ला न्यायधिश उदयराज चापगाँईको इजलासले सो फैसला गरेको थियो । अदालतको फैसला अनुसारको कैद भुक्तान नगरी मल्ल तत्कालिन अवस्थामा फरार रहेका थिए । धेरै वर्ष बिदेश बसेर मल्ल नेपाल फर्किई राजनीतिक तथा सामाजिक काममा सक्रिय थिए ।
उनको सो मुद्धाको बारेमा धेरैलाई जानकारी नभएपछि त्यही मौकाको फाईदा उठाई मल्लले २०७४ सालको स्थानीय निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्ष पदमा उम्मेदबारी दिएर बिजयी समेत भएका थिए ।
विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने क्रममा २२ वर्ष पुरानो मुद्धाका अभियुक्त वडा अध्यक्ष मल्ललाई पक्राउ गरिएको डिएसपी तिमिल्सेनाले बताए । उनलाई सोमबार नै अदालतमा पेश गरि कैद भुक्तानकोलागि कारागार कार्यालय तनहँुमा पठाईएको छ ।
मल्ल गत बैशाख ११ गते भानु नपा–१ का २१ वर्षीय पविन गुरुङको हत्याको घटनामा पक्राउ परि अदालतको आदेशमा जेठ ८ गते ५० हजार धरौटीमा रिहा भएका थिए । सो मुद्धाको अहिलेसम्म फैसला भएको छैन ।
वडा अध्यक्षको पद धरापमा
यसैविच नागरिकता किर्ते सम्बन्धि गम्भिर प्रकृतिको अपराधमा संलग्न भएको पुष्टि भएपछि वडा अध्यक्ष मल्लको पद धरापमा परेको छ । उक्त अभियोग फौजदारी प्रकृतिको भएको कारण उनको पद गुम्ने भएको छ । अधिवक्ता शिवदत्त ढकालले नागरिकता किर्ते सम्बन्धि मुद्धाको दोषी भएको कारण मल्लको वडा अध्यक्ष पद गुम्न सक्ने बताए ।
निर्वाचन सम्बन्धि कानुनमा पनि फौजदारी मुद्धामा सजाय पाएका व्यक्ति कुनै पनि निर्वाचन लड्न अयोग्य हुने व्यवस्था छ । तर मल्लको मुद्धाको बारेमा निर्वाचनको समयमा कसैलाई जानकारी नभएको कारण उनले निर्वाचन लडेर बिजयी हुने मौका पाए ।
निर्वाचनको क्रममा यो घटना भएको भए मल्लको उम्मेदबारी रद्ध हुने थियो । तर मल्लले कानुनलाई समेत छक्याउँदै करिब ३ वर्ष वडा अध्यक्षको पद सम्हाले । निर्वाचन सम्बन्धि कानुनमा भएको व्यवस्था अनुसार मल्ल अव भविष्यमा कुनै पनि निर्वाचन लड्न अयोग्य भने हुनेछन् ।












