२६ कार्तिक, दमौली
व्यास नगरपालिका वडा नम्बर १ मा सय भन्दा बढि सर्वसाधरण नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । बुधबार गल्वुवेशीमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसबाट एक सय २० जना सर्वसाधरण नेकपामा प्रवेश गरेका हुन् ।

व्यास नपा १४ घर भई हाल गल्वुवेशीमा बसोबास गर्दै आएका गिरबहादुर आलेको पहल तथा उनकै नेतृत्वमा ठुलो संख्यामा सर्वसाधरण नेकपामा प्रवेश गरेका हुन् । नेकपा प्रवेश गर्नेहरु अधिकांश व्यास १४ घर घई हाल गल्वुवेशी बस्दै आएकाहरु छन् । नेकपा व्यास नगर कमिटिका सदस्य मनोजकुमार सुवर्णकारको संयोजनमा उनीहरु नेकपामा प्रवेश गरेका हुन् ।




नेकपा प्रवेश गर्नेहरुमा गल्वुवेशी घर भई विगतदेखी नेपाली काँग्रेसमा सक्रिय रहेका भरत बस्नेत र कृष्ण भट्ट लगायत रहेका छन् । नेकपामा प्रवेश गर्नेहरुलाई नेकपाका केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रतिनिधि सभा तनहँु क्षेत्र नम्बर १ का सांसद कृष्णकुमार श्रेष्ठ किसान, प्रतिनिधि सभाका सदस्य कलीला खान, नेकपा जिल्ला सचिवालय सदस्य एवं कार्यालय सचिव राजेश्वर ढकाल, नेकपा व्यास नगर कमिटिका अध्यक्ष श्रीराम कार्की लगायतले खादा र टिका लगाई नेकपामा स्वागत गरेका थिए ।

सो कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठले कम्युनिष्टहरु प्रतिको मोहले गर्दा जन्मजात कांग्रेस भएको भट्ट परिवार र अन्य साथीभाईलाई नकेपामा स्वागत गर्न पाउदा खुशी लागेको बताए । सो कार्यक्रमका बिशेष अतिथि सांसद श्रेष्ठले व्यास नगरमा नेपाली कांग्रेसको थिचोमिचो र कसैले काखा कसैलाई पाखा गरेको कारण पनि आफ्नो पार्टीमा सबैको आर्कषण बढेको र नेकपाले थिचोमिचोमा परेका सबैलाई साथ दिने बताए ।

नेकपा व्यास नगरपालिका वडा नम्बर १ कमिटीको आयोजनामा भएको कार्यक्रम नेकपा वडा कमिटिका अध्यक्ष ज्ञानेन्द्र बसौलाको अध्यक्षतामा भएको थियो ।













