माग पुरा नभएसम्म तालाबन्दी जारी रहने
११ मंसिर देवघाट
चितवनको भरतपुर महानगरपालिका–१ देवघाट स्थित सिताराम संस्कृत माध्यमिक विद्यालयमा तालावन्दी गरिएको छ । शिक्षक सरुवाको विषयलाई लिएर विद्यालयका पुर्व विद्यार्थीहरुले विद्यालयमा तालाबन्दी गरेका हुन् ।
विद्यालयमा रिक्त रहेको अंग्रजी विषयको निमावि शिक्षक दरबन्दीमा सरुवा गरि ल्याउने एक जना शिक्षक छनौट गर्ने क्रममा विद्यालयमा विवाद सृजना हुदाँ तालावन्दी भएको जनाईएको छ । उक्त शिक्षक दरबन्दीमा सरुवा भई आउन तनहुँकी विमला अधिकारी र सन्तोष ढकालका तथा देवचुली नवलपुरबाट रामबहादुर बिश्वकर्मा चाहेका थिए ।



विद्यालयको शिक्षक छनौट समितिले गत असोज २१ गते तिन जना मध्ये बिश्वकर्मालाई छनौट गरेको थियो । तर उक्त निर्णय गलत भएकोले खारेज गरि पाउ भन्दै विद्यालय व्यवस्थापन समितिका सदस्य रामहरी कोइरालाले भरतपुर महानगरपालिका वडा नम्बर १ को कार्यालयमा निवेदन दिएपछि विवाद भएको विद्यालयका प्रध्यानाध्यापक मिलन घिमिरेले जानकारी दिए ।
यहि विषयमा विवाद समाधानकालागि भएको छलफलमा शिक्षक छनौट समितिले गरेको निर्णय कार्यान्वयन गर्ने भए विद्यालयका हालका प्रध्यानाध्यापक मिलन घिमिरेले राजिनामा दिनुपर्ने भनि व्यवस्थापन समितिका अध्यक्ष लगायतले अनुचित दबाब दिएपछि बाध्य भएर विद्यालयमा तालाबन्दी गरेको पुर्व विद्यार्थीहरु विकास ढकाल र सुरज घिमिरेले बताए ।
विद्यालयको हितका लागि राम्रो शिक्षक ल्याउनु पर्छ भन्ने प्रध्यानाध्यापकलाई विद्यालयका केहि पदाधिकारीले आफ्नो मान्छे ल्याउन छनौट नगरेको झोकमा जबरजस्ती राजिनामा दिन लगाएको विरोधमा आफुहरुले तालावन्दी गरिदिएको घिमिरेले बताए ।
विद्यालयको हितकै लागि राम्रा शिक्षक ल्याउन खोज्दा आफुलाई जबरजस्ती प्रध्यानाध्यापक पदबाट राजिनामा दिन दवाव दिएको विद्यालयका प्रअ मिलन घिमिरेले बताए । गत असोज २१ गते शिक्षक छनौट समितिका सदस्यहरु ऋषिराम लामिछाने र मिलन घिमिरेले देवचुली नवलपुरबाट सरुवा भई आउन चाहेका शिक्षक रामबहादुर बिश्वकर्मालाई छनौट गरेका थिए । तर समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दधिराम सापकोटाले निर्णयमा हस्ताक्षर नै नगरि तटस्थ बसेका थिए ।
छनौट समितिका संयोजक सापकोटाले प्रध्यानाध्यापक घिमिरेले राजिनामा दिनुपर्ने शर्तमा रामबहादुर विश्वकर्मालाई शिक्षक सरुवा गर्न सहमत भएका थिए । प्रअ घिमिरेले भने विद्यालयको हितका लागि शिक्षक राम बहादुर विश्वकर्मालाई ल्याउदा राम्रो हुने भएकोले छोड्नै परे आफुले पुस मसान्त भित्र प्रअबाट राजिनामा दिन्छु भनेर सहमति गरेको तर व्यवस्थापन समितिका पदाधिकारीले भने अहिले नै राजिनामा दिन दवाव दिएको बताए ।
यसैबिच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दधिराम सापकोटाले भने विद्यालयमा त्यस्तो कुनै विवाद गर्नुपर्ने विषय नभएको बताए । शिक्षक छनौटको कुरामा विद्यालयको हितमा हुने गरि नै शिक्षक रामबहादुर विश्वकर्मालाई नै ल्याउन लागिएको र प्रध्यानाध्यापकको राजिनामा सन्दर्भमा पाँच वर्ष कार्यकाल पुगेर नै राजिनामा मागिएको बताए । ‘उहाँको कार्यकाल सकिएको र समितिको बैठकले उहाँलाई नदोहो¥याउने भनेपछि राजिनामा मागिएको हो, त्यसैले यो कुरामा अनावश्यक दबाब दिएको भन्ने, विवाद भएको कुरा गलत हो’–उनले भने ।
यसैविच शिक्षक छनौटको विषयमा विवाद सृजना गरि अनुचित रुपमा विद्यालयका प्रध्यानाध्यापकलाई राजिनामा गर्न बाध्य बनाएको भन्दै सिताराम संस्कृत माध्यामिक विद्यालयमा तालाबन्दी गरेका पुर्व विद्यार्थीहरु बिकास ढकाल र सुरज घिमिरे नेतृत्वको स्थानीय युवा टोलीले मसिर ९ गते व्यवस्थापन समितिको बैठकमै प्रअको राजिनामा च्यातेका छन् ।
विद्यालयमा रिक्त रहेको अंग्रेजी विषयको निमावि शिक्षक दरबन्दीमा आउने शिक्षक छनौट गर्ने क्रममा विद्यालयमा राजनीतिकरण भएको भन्दै तालावन्दी गरेका विद्यार्थीहरुले विद्यालयको हितका लागि आफ्नो नभई राम्रो शिक्षक ल्याउनुपर्ने, शिक्षकहरुको गुटबन्दीको अन्त्य हुनुपर्ने, विद्यालय परिसरमा राजनितिक वातावरणको अन्त्य हुनुपर्ने, र सुन्दरशान्त वातावरणमा विद्यार्थीको पठन पठन नियमित सञ्चालन हुनुपर्ने माग गरेका छन् ।
विद्यालयको वातावरण सहज पार्नको निम्ति उठाइएको आफ्ना माग पूरा नभएसम्मका लागि विद्यालयको प्रशासनमा अनिश्चितकालिन तालाबन्दी गरेको पुर्व विद्यार्थीहरुले जानकारी गराएका छन् ।












