२४ मंसिर,देवघाट
देवघाट गाउँपालिकाको आयोजनामा भोली विहिबारदेखी वडा नम्बर २ को कोटबैदीमा गाउँपालिका स्तरीय कृषि तथा पशु प्रर्दशनी हुने भएको छ । व्यवसायीक रुपमा कृषि तथा पशुपालनमा लागेका कृषकलाई प्रोत्साहन गर्ने तथा व्यवसाय विस्तारमा थप ज्ञान र सिप उपलब्ध गराउन सो कार्यक्रमको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले बताए ।
सो प्रर्दशनीको गन्डकी प्रदेशका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले उद्घाटन गर्ने छन् । सो अवसरमा मन्त्री थापा र कृषकहरु विच अन्तरक्रिया समेत हुने भएको छ । व्यवसायीक कृषि र पशुपालनको माध्यमबाट देवघाट गाउँपालिकालाई समृद्ध बनाउने उद्देश्य सहित गाउँपालिकाले कृषकहरुलाई प्रोत्साहन गर्दै आएको गाउँपालिकाका अध्यक्ष थापाले बताए ।



गाउँपालिकाले गत वर्ष जिल्लामै पहिलो पटक देवघाटमा कृषि महोत्सव आयोजना गरेको थियो । सो प्रर्दशनीको अवसरमा देवघाट गाउँपालिका भित्रका माध्यमिक विद्यालय स्तरीय समृद्ध देवघाट निर्माणमा कृषिको महत्व विषयक निबन्ध लेखन प्रतियोगिता समेत हुने भएको छ ।












