बैशाख २५, देवघाट
देवघाट गाउँपालिकामा प्राङगारिक कृषि उपज उत्पादन गर्नकालागि नमुना फर्म सन्चालन गरिएको छ । देवघाट गाउँपालिका–१ कोटामा ६० रोपनी जग्गामा नेपालमै पहिलो पटक नमुना प्राङगारिक कृषि फार्म सन्चालन गरिएको छ । फार्म सन्चालनकोलागि कृषकहरुलाई प्राङगारिक खेतीको प्रयोगात्मक तालिम तथा कम्पोष्ट मल, गडयौला मल, हरियो मल उत्पादन गर्ने सिप सिकाईएको छ ।
सो क्षेत्रमा रहेका सबै प्रकारका रैथाने बालीहरुको संरक्षण र उत्पादन गर्न तथा अर्गानिक खाद्यन्न, तरकारी जडिबुटी र फलफूलहरु उत्पादन गर्न उक्त फार्म सन्चालन गरिएको उपभोक्ता संरक्षण महासंघका अध्यक्ष तथा भान्छा नै औषधालयको प्रवर्तक अभियन्ता रोमलाल गिरीले बताए । प्राङगारिक कृषि मिसन समिति र एकीकृत कृषि नमुनाको सहकार्यमा आठ हजार प्रकारका खानेकुराहरुको पहिचान र प्रयोग गर्नका लागि देवघाटमा नेपालकै पहिलो र नमुना प्राङगारिक नमुना फर्म बनाइएको गिरीले बताए ।




उक्त फार्म सन्चालनकोलागि देवघाट गाउँपालिकाको सहयोगमा एकीकृत कृषि नमुना केन्द्रको आयोजनामा त्यस क्षेत्रका कृषकहरुलाई नौ दिने प्राङगारिक खेती सम्बन्धि प्रयोगात्मक तालीम दिईएको छ । तालिम समापन कार्यक्रममा बोल्दै देवघाट गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले प्राङगारिक उत्पादन मानव स्वास्थ्यका लागि महत्वपूर्ण रहेको भन्दै देवघाट गाउँपालिकामा उक्त नमुना फार्म सुरुवात गरिएकाले सो फार्मका लागि गाउँपालिकाको तर्फबाट सक्दो सहयोग र संरक्षण गर्ने बताए ।
भान्छा नै औषधालयको प्रवर्तक अभियन्ता गिरीले फार्ममा प्राङ्गारिक खेतीको प्रयोगात्मक तरिकाबाट तालिम दिईएको कृषकहरुले कम्पोष्ट मल, गडयौला मल, हरियो मल उत्पादन गर्न सक्ने बताए ।
वडा नम्बर १ का अध्यक्ष भिमबहादुर गुरुङले यस क्षेत्रमा नेपालमै पहिलो पटक प्राङगारिक खेती सम्बन्धि नमुना फार्म सन्चालन गरिएको हुँदा अर्गानिक उत्पादनलाई वृद्धि गरि बजार व्यबस्थापन गरेर कृषक दाजुभाइ तथा दिदिबहिनीहरुको आर्थिक वृद्धि दरलाई दोब्बर बनाउन सकिने बताए । प्राङगारिक कृषि मिसन समितिका अध्यक्ष देवबहादुर गुरुङले अव आफुहरु फार्ममा काम गर्नुका साथै सप्राङगारिक खेतीमा लाग्न सक्ने बताए ।













