देवघाट अनलाइन,
दमौली, चैत १३




गोविन्द भट्टराई किरण गुरुङ
तनहुँ क्षेत्र नम्बर १ मा आगामी बैशाख १० गते हुने उपनिर्वाचनको माहौल तात्दै गएको छ । निर्वाचनको लागि आगामी चैत २० गते उम्मेदबारको मनोनयन दर्ता गरिने हुँदा राजनीतिक दलहरुबाट उम्मेदबार को बन्लान् भन्ने आमसर्वसाधरणमा चासो बढेको छ ।
निर्वाचनको तयारीको लागि प्रमुख राजनीतिक दलहरुले आन्तरिक कार्य सुरु गरिसकेका छन् । नेपाली काँग्रेसले क्षेत्रीय समितिको बैठक मार्फत उम्मेदबारका आकांक्षीहरुको नाम संकलन गरिसकेको छ । नेपाली काँग्रेसमा उम्मेदवार हुनका लागि केन्द्रीय सदस्य गोविन्द भट्टराई, पूर्व सभापति रघुनाथ पौडेल, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, दीपक भट्टराई, लक्ष्मी आचार्य, आँबुखैरेनी सभापति विष्णुबहादुर पन्त, जिल्ला उपसभापति देवकुमार श्रेष्ठ, संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, पूर्व सचिव समुन्द्र गोदार, पूर्व प्रदेश मन्त्री डोवाटे विश्वकर्मा, पूर्व प्रदेश सांसद सरिता गुरुङ, पूर्व समन्वय समिति सदस्य अर्जुनबहादुरअधिकारी र क्षेत्रीय सभापति श्याम मौरातीले निवेदन दिएका छन् ।
यता नेकपा एमालेले पनि शनिबार क्षेत्र नम्बर १ को डुम्रे भन्सारमा क्षेत्रीय कार्यकर्ता भेलाको आयोजना गरिसकेको छ । मिसन ग्रासरुट अभियानको नाम दिईएपनि एमालेको उक्त भेला निर्वाचन तयारीलागि नै भएको थियो । उक्त भेलामा एमाले नेताहरुले मिसन ग्रासरुट अभियानलाई चुनावी अभियानमा बदलेर निर्वाचन परिणाम आफ्नो पक्षमा पार्नुपर्नेमा जोड दिएका थिए ।
एमालेको उक्त भेलाले उम्मेदबार सम्बन्धि केही निर्णय गर्ने आशामा भेला स्थल बाहिर धेरै कार्यकर्ताहरु जम्मा भएका थिए । तर भेलाले उम्मेदबार सम्बन्धि कुनै निर्णय भने गरेन । एमालेको गन्डकी प्रदेश कमिटिले उम्मेदबारका आकांक्षीहरुको नाम प्रथामिकताको आधारमा केन्द्रिय सचिवालयलाई सिफारिस गर्ने र केन्द्रिय सचिवालयले नै उम्मेदबारको अन्तिम नाम तय गर्ने बुझिएको छ ।
यस्तै नेकपा माओवादी केन्द्रले पनि यस पटक तनहुँ क्षेत्र नम्बर १ आफैले पाउनु पर्ने भन्दै सम्भावित उम्मेदबारको नाम सिफारिस गरेको छ । माओवादी केन्द्रका केन्द्रीय सदस्य हरिबहादुर चुमान र आशा कोइरालाको उपस्थितीमा बन्दीपुरमा बसेको बैठकले पार्टीका केन्द्रीय कोषाध्यक्ष श्रीराम ढकाल, केन्द्रीय सदस्य ओमकुमारी पौडेल, वैकल्पिक केन्द्रीय सदस्य हेमराज लामिछाने, गीता शाही, सूर्य गौली, भिम राना र पूर्णसिं थापामध्ये एकलाई उम्मेदबार बनाउन केन्द्रमा सिफारिस गरेको छ ।
यसैगरि नेकपा एकिकृत समाजबादीले पनि उक्त क्षेत्रमा आफ्नो दावी प्रस्तुत गरेको छ । गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा नेकपा एसले कुनै पनि क्षेत्रमा उम्मेदबारी नपाएको हुँदा यस पटकको उम्मेदबारीमा आफ्नो पार्टीले पाउनु पर्ने भन्दै सत्तागठबन्धनमा दावी प्रस्तुत गरेको छ ।
यसैगरि गत मंसिरको चुनावबाट एकाएक चर्चामा आएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि तनहुँ–१ म उम्मेदबारी दिने भएको छ । सो पार्टीले तनहुँ १ को निर्वाचन परिचालनको लागि सहमहामन्त्री कविन्द्र बुर्लाकोटीलाई जिम्मेबारी समेत तोकिसकेको छ । सो पार्टीबाट व्यवसायी नमस्तेलाल भुमी, जिल्ला अध्यक्ष विकास सिग्देल लगायतको नाम चर्चामा छ । त्यस्तै गत वर्ष नेपाली काँग्रेस परित्याग गरेका विश्व बास्तोला तथा गत मंसिरको निर्वाचनमा डडेलधुरामा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवासँग प्रतिश्पर्धा गरेर चर्चामा आएका सागर ढकालको नाम पनि तनहुँ १ को उम्मेदबारको रुपमा चर्चामा आएको छ । यिनै मध्येबाट पार्टीले एक जनालाई उम्मेदबार बनाउने सो पार्टीका व्यास नगर संयोजक उदित पौडेलले जानकारी दिए । गत निर्वाचनमा सम्मानजनक मत ल्याएको सो पार्टीले यस पटक चुनाव जित्ने दावी समेत गरेको छ ।
वर्तमान सत्ता गठबन्धनमा रहेका नेपाली काँग्रेस सहित माओवादी केन्द्र र नेकपा एसले पनि उम्मेदबारीमा दावी प्रस्तुत गरेपनि तनहुँ–१ मा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसको मात्र उम्मेदबारी पर्ने सम्भावना देखिएको छ । राष्ट्रपती रामचन्द्र पौडेलले छाडेको निर्वाचन क्षेत्र भएको कारण पनि काँग्रेसले यस क्षेत्र नछाड्ने बताईएको छ । यस्तो अवस्थामा नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी विचमा त्रिकोणात्मक प्रतिश्पर्धा हुने स्थिती देखिएको छ । राप्रपा सहित अन्य केही साना पार्टी र स्वतन्त्र उम्मेदबारहरुले पनि चुनावी प्रतिश्पर्धा गरेपनि मुख्य प्रतिश्पर्धा भने गठबन्धन, एमाले र रास्वपाको विचमा नै हुनेछ ।
एक दर्जन उम्मेदबारको आकांक्षी भएपनि नेपाली काँग्रेसले तनहुँ–१ मा केन्द्रिय सदस्य गोविन्द भट्टराईलाई उम्मेदबार बनाउने निर्णय गरिसकेको बताईएको छ । काँग्रेस सभापती शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शनिबार साँझ बसेको पदाधिकारीको बैठकले भट्टराईलाई उम्मेदबार बनाउने निर्णय गरेको भट्टराई निकट श्रोतले दावी गरेको छ । यद्यपी काँग्रेसले आज सोमबार उम्मेदबारको औपचारिक निर्णय गर्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिएका छन् ।
यता नेकपा एमालेमा पनि उम्मेदबारको आकांक्षीहरु आधा दर्जन पुगेका छन् । एमालेमा स्थायी कमिटिका सदस्य किरण गुरुङ, केन्द्रीय सल्लाहाकार एकबहादुर राना, प्रदेश कमिटिका सदस्य रामबहादुर गुरुङ, नेपाल प्रहरीका पुर्व महानिरिक्षक सर्वेन्द्र खनाल र व्यवसायी मोहनकुमार विकले उम्मेदबार बन्ने इच्छा देखाएका छन् ।
स्थायी कमिटि सदस्य गुरुङ उम्मेदबार बन्ने बारेमा व्यक्तिगत रुपमा इच्छा जाहेर नगरेपनि उनी निकट केही कार्यकर्ताहरु गुरुङलाई उम्मेदबार बनाउनु पर्ने लविङमा लागेका छन् । पार्टीको बरिष्ठ नेता भएको कारण पनि गुरुङ उम्मेदबार बनेमा चुनाव जित्न सहज हुने विश्लेषण केही कार्यकर्ताले गरेका छन् । पछिल्ला केही दिनमा गुरुङ क्षेत्र नम्बर १ का विभिन्न ठाउँमा मिसन ग्रासरुट अभियानमा अतिथीको रुपमा आएपछि गुरुङ उम्मेदबार बन्ने बारेमा अनुमान गर्न थालिएको हो । यद्यपी गुरुङ आफैले उम्मेदबार बन्ने बारेमा केही बताएका छैनन् । एमालेमा गुरुङले उम्मेदबार बन्ने इच्छा गरेको खण्डमा अन्य आकांक्षीहरुको दावी स्वतः कमजोर बन्ने देखिन्छ ।
स्थायी कमिटिका सदस्य गुरुङ उम्मेदबार नबनेमा भने नेपाल प्रहरीका पुर्व महानिरिक्षक सर्वेन्द्र खनालको सम्भावना देखिएको छ । पार्टी नेतृत्वको संकेत पाएपछि खनाल केही दिन यता विभिन्न कार्यक्रममा तनहुँ आएका छन् । खनाल गत साता राष्ट्रिय युवा संघको जिल्ला सम्मेलन र शनिबार क्षेत्र नम्बर १ को कार्यकर्ता भेलामा समेत सहभागी थिए । भानु नगरपालिकाको सिम्पानीमा जन्मिएका खनाल उम्मेदबार बनेमा चुनाव जित्न सहज हुने केही एमालेका कार्यकर्ताहरुको दावी रहेको छ । खनाल उम्मेदबार बनेमा नेपाली काँग्रेसका कार्यकर्ताहरुको पनि सहयोग पाउने विश्वास गरिएको छ ।
नेपाल प्रहरीको महानिरिक्षकको रुपमा राम्रो छवि निर्माण गरेका खनालले आफुलाई पार्टीले विश्वास गरेमा चुनाव जित्ने दावी गरेका छन् । शनिबार भन्सारमा भएको क्षेत्रीय भेलामा केही युवाहरुले खनाललाई उम्मेदबार बनाउनु पर्ने भन्दै दवाव समेत दिएका थिए । खनाल गत मंसिरमा सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा काठमाडौं–६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालसँग पराजित भएका थिए ।
एमालेका केही जिल्ला स्तरीय नेताले भने सुनचाँदी व्यवसायी मोहनकुमार विकको पक्षमा लविङ गरेका छन् । तर उनले टिकट पाउने सम्भावना नरहेको बताईएको छ । सुनचाँदी व्यवसायी संघको केन्द्रीय अध्यक्ष भईसकेपनि पछिल्लो समय एमाले तनहुँको गतिविधिमा उनको भुमिका निश्क्रिय जस्तै भएको कारण उनको दावी कमजोर बनेको बताईएको छ ।












