देवघाट अनलाइन
दमौली, चैत १६
राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवा अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले तनहुँ–१ बाट उपचुनाव लड्ने चर्चा सुरू भएको छ । स्रोतका अनुसार डा. वाग्ले अहिले तनहुँ–१ को विभिन्न स्थानमा आएर यहाँको बस्तुस्थिती अध्ययन गरेर विहिबार काठमाडौं फर्किएका छन् । काठमाडौं पुगेपछि उनको उम्मेदबारीको थप टुंगो लाग्ने जनाईएको छ । वाग्लेले बुधबार दिनभर दमौलीमा विभिन्न व्यक्तिसँग भेटघाट गरेका थिए ।



वाग्ले रास्वपाका सांसद शिखिर खनालसँगै तनहुँ आएका थिए । उनले रास्वपाका जिल्ला सभापति विकास सिग्देललगायतसँग छलफल गरेका थिए । सिग्देलले मंसिर ४ को निर्वाचनमा रास्वपा उम्मेदवार बनेर सो क्षेत्रमा ६ हजार ३ सय मत ल्याएका थिए । रास्वपाले सो क्षेत्रमा समानुपातिक मत भने १२ हजार कटाएको थियो ।
यसैविच लामो समयदेखी कांग्रेस निकट रहेका वाग्लेले विहिबार सामाजिक सन्जाल मार्फत नेपाली काँग्रेस छाडेको घोषणा गरेका छन् । वाग्लेले भनेका छन् ‘वि.स.२०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु ।’

‘त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक–सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान गरें । विशेषतः योजना आयोगमा सुशील कोइराला र शेरबहादुर देउवा दुबैले दिनुभएका जिम्मेवारी कौशलका साथ सम्पन्न गरेर मुलुकको मान राख्न सकेकोमा गर्व छ । तर पछिल्ला वर्षहरुमा काँग्रेस पार्टीभित्रका गतिविधिहरु नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शीर निहुरिने अवस्था आएको छ । जननायक बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’
‘अब कांग्रेस–कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्ध नभएका स्वतन्त्रता र समुन्नतिका हिमायती, कुलीन राजनीतिको परिधिभन्दा बाहिर रहेका, एवं विदेशमा बसेपनि नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्छ । सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को शुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुनेछु । आम नैराश्य चिरेर ‘यो देश बन्छ’ भन्ने आशा जगाउने हो, बनाउने नै हो ।’ वाग्लेले सामाजिक सन्जालमा भनेका छन् ।












