देवघाट अनलाइन
दमौली, चैत २७
तनहुँ प्रहरीले २०७७ चैत्र २८ गते फरार अभियुक्त भन्दै शुक्लागन्डकी नगरपालिका–८ गुर्दमका ६८ बर्षिय बुधे दमैलाई पक्राउ गरेको सार्वजानिक ग¥यो । विभिन्न मुद्धामा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान नगरी फरार रहेका प्रतिबादीहरुको खोजी गर्ने क्रममा प्रहरीले दमैलाई घरमै लुकछिपि बस्दै आएको अवस्थामा पक्राउ गरिएको विवरण सन्चार माध्यम मार्फत सार्वजानिक गरेको थियो ।
२०२९ सालमा भएको बलात्कारको घटनामा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएको तर सजाय भुक्तान नगरिकन फरार भएका बुधे दमैलाई पक्राउ गरि सजाय भुक्तानको लागि कारागार पठाईएको प्रहरीले जनाएको थियो । तर प्रहरीले गिरफ्तार गरेका व्यक्ति उक्त घटनाको वास्तविक दोषी नभई उनका सहोदर दाई भएको स्वयं पीडितले गुनासो गरेका छन् । पीडित बुधे दमैले प्रहरीले भाईले गरेको अपराधमा आफुलाई सजाय दिएको गुनासो गरेका छन् ।
तनहुँ कारागारका बन्दिहरुको मानवअधिकारको अवस्थाको बारेमा अनुगमन गर्न गत शुक्रबार कारागार गएको इन्सेक नेतृत्वको मानवअधिकारकर्मीहरुको टोली समक्ष बुधेले भाईले गरेको अपराधमा आफुलाई सजाय दिएको भन्दै आफुलाई न्याय दिन अनुरोध गरे ।
२०२९ सालमा भएको बलात्कारको मुद्धामा तनहुँ जिल्ला अदालतले शुक्लागन्डकी नगरपालिका–८ गुर्दुमका केशे दमाईलाई ६ बर्षको कैद सजाय फैसला गरेको थियो । तर त्यसबेला फरार रहेका केशे दमैको फरारकै अवधीमा मृत्यु भयो ।
अभियुक्तको मृत्यु भएपछि उक्त मुद्धाको फाईल नै बन्द हुनु पर्नेमा प्रहरीले भने केशे दमै भन्दै उनका ६७ बर्षीय दाई बुधे दमैलाई २०७७ चैत २८ गते पक्राउ गरेको थियो । अदालतबाट दोषी ठहर भएका फरार प्रतिबादीको सूचीमा रहेका केशे दमाईको खोजतलास गरेको प्रहरीले बुधेलाई भाई भन्ने ठानेर गिरफ्तार गरि कारागार चलान गरेको पीडितले बताए । आफुले पटक–पटक म केशेको दाई हो भन्दै आएपनि प्रहरीले जवरजस्ती पक्राउ गरेर कारागारमा राखेको बुधेले मानवअधिकारकर्मीहरु समक्ष गुनासो गरेका थिए ।
छ बर्ष कैद सजायँ पाएका निज दमाईले दुई बर्ष भुक्तान गरिसकेका छन् । गल्ती भाईले गर्ने सजायँ मैले भोग्नु प¥यो भन्दै आफ्ना कुरा संम्बन्धित निकायमा राखिदिन उनले आग्रह गरेका छन् । भाईको मृत्यु दर्ता प्रमाणपत्र कारागारमा बुझाईसकेपनि आफुलाई नै भाई भन्ने ठानेको उनले बताए । उनले आफुलाई न्यायकोलागि पहल गर्न मानवअधिकारकर्मीहरु समक्ष अनुरोध गरे ।
केही महिना अघि जिल्ला न्यायधिश कारागारको अनुगमन गर्न आउँदा पनि आफ्नो पिडा न्यायधिश समक्ष सुनाएको बुधेले बताए । तर पनि आफुलाई अझै न्याय नभएको उनले बताए । प्रहरीले केशे दमै र बुधे दमै भन्ने एउटै व्यक्ति एकै भएको भन्दै अदालतमा उपस्थित गराएपछि अदालतले कैदको लागि थुनामा पठाएको जिल्ला कारागार तनहुँका निमित्त प्रमुख नारयण अधिकारीले बताए । अदालतबाट आदेश नआउँदा सम्म कसैलाई पनि छाड्न नमिल्ने अधिकारीले बताए ।