देवघाट अनलाइन
दमौली, चैत २७
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्न २ करोड घुस मागेको अडियो सार्वजानिक भएपछि रास्वपा अप्ठ्यारोमा परेको छ । रास्वपाका समानुपातिक सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गाप्रसाईसँग मन्त्री बन्नको लागि पार्टी सभापतीलाई बुझाउनु पर्ने भन्दै २ करोड मागेको अडियो आईतबार बिहान फेसबुकबाट सार्वजानिक भएको थियो ।
कपुरबोट अनलनाईन नामको फेसबुक पेजबाट उक्त अडियो सार्वजानिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीमाथि सर्वसाधरण नागरिकको आलोचना ह्वात्तै बढेको छ । भ्रष्टाचारको विरोध गर्दै उदाएको सो पार्टीका सांसद नै भ्रष्टाचार मुद्धामा मुछिएपछि रास्वपामाथि नागरिकस्तरबाट प्रश्न उठ्न थालेको छ ।
उक्त अडियोमा गत पुसमा सरकार गठनको क्रममा सांसद श्रेष्ठले आफुले स्वास्थ्यमन्त्री पाउने निश्चित भएको हुँदा तर त्यसको लागि पार्टी सभापती रवि लामिछानेलाई दुई करोड बुझाउनु पर्ने भएकोले आफुसँग त्यत्रो रकम नभएको कारण उपलब्ध गराउन व्यवसायी प्रसाईसँग अनुरोध गरेका थिए । मन्त्री बनेपछि मिलेर गर्ने प्रतिबद्धता पनि सांसद श्रेष्ठले फोन वार्तामा गरेका छन् ।
उक्त अडियो सार्वजानिक भएपछि रास्वपाले आन्तरिक छानविन समिति बनाई श्रेष्ठलाई ३ दिनको लागि निलम्बन गरेको छ । उक्त अवधिमा श्रेष्ठले पार्टीको केन्द्रिय सदस्य र सांसदको रुपमा केही पनि काम नगर्न निर्देशन दिएको छ । छानविनमा दोषी ठहर भए श्रेष्ठलाई सांसदपदबाट निश्कासन गर्ने रास्वपाले जनाएको छ । आईतबार बाराको चुनावी प्रचारमा पुगेका रास्वपाका सभापती रवि लामिछानेले पनि उक्त अडियोको छानविन गरि दोषीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा आक्रामक चुनावी अभियान सन्चालन गरेको रास्वपा अडियो प्रकरणपछि रक्षात्मक बनेको छ । रास्वपाका उम्मेदबारहरु अडियो प्रकरणको बारेमा स्पष्टिकरण दिँदा दिँदा हैरान बनेका छन् ।
अरु पार्टीका नेतालाई भ्रष्टाचारी करार गरि टुंडिखेलमा लगेर नाकको डाँडी भाच्नु पर्ने भन्दै आएका रास्वपाका सभापती रवि लामिछाने आफ्नै पार्टीका सांसद २ करोड घुस प्रकरणमा विवादमा मुछिएपछि अप्ठ्यारोमा परेका हुन् । यद्यपी उनले सांसद श्रेष्ठलाई निलम्बन गरिएको र थप छानविन पश्चात कारवाही गर्ने प्रतिबद्धता जनाएका छन् ।
रास्वपाले आईतबार विवादित सांसद श्रेष्ठलाई तिन दिनको लागि निलम्बन गरिएको जनाउँदै उक्त अवधिमा उनले पार्टीको केन्द्रिय सदस्य र सांसदको रुपमा कुनै गतिविधि नगर्न निर्देशन दिएको थियो । तर पार्टीको निर्देशन लत्याउँदै श्रेष्ठले सोमबार विहान सांसदको लेटरप्याड प्रयोग गरि आफुलाई फसाउने षड्यन्त्र भएको आरोप लगाएका छन् । उनले बाहिर आएको फोन संवादको अडियो वास्तविक नभई सम्पादन भएको समेत विज्ञप्तिमार्फत बताएका छन् ।
गत ४ मंसिरको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा ७ सीट जित्दा समानुपातिकतर्फ १३ सीट जितेको थियो । रास्वपाले श्रेष्ठलाई आदिवासी जनजातितर्फ पहिलो नम्बरमा राखेर सांसद बनाएको थियो । श्रेष्ठ रास्वपाका गण्डकी प्रदेश सभापति पनि हुन् । कास्की पोखराका श्रेष्ठ ४६ वर्षका भएका छन् । यसअघि उनी सहकारीको ८२ लाख रुपैयाँ अपचलनको मुद्दामा पनि मुछिएका थिए । सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएपनि रास्वपाले श्रेष्ठको वचाउ गर्दै आएको थियो ।
श्रेष्ठ २०५९ सालमा आफैंले पोखरामा स्थापना गरेको किसान कृषि सहकारीको अध्यक्ष बनेका थिए । उनी सांसद बनेपछि पनि सहकारीले बचतकर्ताको पैसा फिर्ता दिन सकेको थिएन । छोटो समयमा उदाएर परम्परागत राजनीतिक दलमाथि धावा बोलेको रास्वपा नैतिक संकट र गम्भीर प्रश्नको घेरामा परेको छ । सुशासन, न्याय, पारदर्शिताजस्ता विषयमा आवाज उठाएर छोटो समयमा स्थापित रास्वपा आफैं गम्भीर प्रश्नको घेरामा परेको हो । नयाँ दलका रूपमा रास्वपाले २० जितेर छोटो समयमा चर्चा, परिचर्चा र वाहवाही बटुल्यो ।
तर, एकपछि अर्को विवाद र सुशासनविरुद्धका घटनासँग जोडिएर सभापतिदेखि मन्त्री र सांसदसम्म मुछिएपछि रास्वपामाथि नैतिक संकट देखिएको हो । तनहुँका केही मतदाताले सामाजिक सन्जाल मार्फत श्रेष्ठको अडियो सुन्नु अघि रास्वपालाई भोट हाल्ने मनस्थिती बनाएको भएपनि अव आफ्नो निर्णय परितर्वन गरेको बताएका छन् ।