देवघाट अनलाइन
दमौली, चैत ३०
नेपाली काँग्रेसको जोशी समुहले तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन गर्ने निर्णय नभएको बताएको छ । जोशी समुहका नेता दिपकराज जोशीले हालसम्म कुनै पनि उम्मेदबारलाई समर्थन गर्ने निर्णय नभएको बताए । तर नेपाली काँग्रेससँग भने वार्ताको सम्भावना अब टरेको हुँदा आफ्नो समर्थन काँग्रेसका उम्मेदबारले नपाउने जोशीले बताए ।



विहिबार गोविन्दराज जोशी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने विच वार्ता भएको भन्ने समाचार झुट रहेको दिपकले बताए । ‘रवि लामिछानेसँग व्यक्तिगत रुपमा अमेरिकादेखी चिनजान भएको र सो समाज रुपान्तरणगर्नको लागि मिलेर केही गर्न पर्छ भनेर उहाँ राजनीतिमा आउनु अगाडीदेखी नै छलफल हुँदै आएको छ । स्वर्णिम वाग्ले लगायत थुप्रै बुढानिलकन्ठ स्कुलमा पढेकाहरु मेरो साथी भएको हुँदा सहयोगको लागि हाम्रो विचमा धेरै पटक छलफल भएको छ ।’ दिपकले भनेका छन् ‘अहिले पनि हाम्रो भेटमा उहाँहरुले सहयोगको अपेक्षा राख्नुहुन्छ । जोशी समुहसँग राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको हैसियतले कुराकानी गरेको छैन । जोशी समुहको अडान हामिले निकालिएको वक्तव्यमा प्रष्ट उल्लेखित छ ।’
यद्यपी २१ औं सताब्दीको चुनौतीलाई सामना गर्न सक्ने सक्षम, बौद्धिक र तनहुँको प्रतिष्ठालाई राष्ट्रिय राजनीतिमा कायम राख्न सक्ने योग्य उम्मेदबारलाई तनहुँ क्षेत्र नम्बर १ ले बिजयी गराउने जोशीले बताए । जोशीको उक्त भनाईलाई अधिकांशले रास्वपाका उम्मेदबार डा. स्वर्णिम वाग्लेलाई समर्थन गर्ने बुझिएको जनाएका छन् ।