देवघाट अनलाइन
दमौली, चैत ३०
आगामी बैशाख १० गते हुने उपनिर्वाचनको परिणामलाई नेपाली काँग्रेसका नेताहरुले प्रतिष्ठाको विषय बनाएका छन् । नेकपा एमालेका उम्मेदबार सर्वेन्द्र खनाल प्रभावशाली बन्दै गएको र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार स्वर्णिम वाग्लेको प्रभाव बढ्दै गएको कारण पनि काँग्रेसलाई आफ्नो विरासत जोगाउन हम्मे हम्मे पर्ने भएको छ ।
उपनिर्वाचनमा सत्ता गठबन्धन एकातिर छ भने नेकपा एमाले र रास्वपा एक्लाएक्लै चुनावी मैदानमा छन् । गठबन्धनको साझा उम्मेदबार हुँदा पनि काँग्रेसका नेताहरु आफ्नो बिजयप्रति ढुक्क बनेका छैनन् । त्यसैभएर बरिष्ठ नेताहरु तनहुँमा केन्द्रित भएका छन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, पुर्व उपसभापती प्रकाशमान सिंह, मानबहादुर विश्वकर्मा, केन्द्रिय सदस्य प्रदिप पौडेल, शंकर भण्डारी लगायतका नेताहरुले भट्टराईको पक्षमा माहौल बनाएर फर्किएका छन् । केन्द्रिय सदस्य भन्डारी भट्टराईको चुनावी कमान्डर बनेर जिल्लामै बसेका छन् ।
राष्ट्रपती रामचन्द्र पौडेलको निर्वाचन क्षेत्र मात्र नभएर तनहुँ नेपाली काँग्रेसको बिरासत भएको जिल्ला मानिन्छ । २०७४ मा बामगठबन्धनले क्लिन स्विप गरेको अवस्था बाहेक अन्य चुनावमा काँग्रेसले यो निर्वाचन क्षेत्रमा जित हार्दै आएको छ । २०७९ मा भने गठबन्धनको बलमा भएपनि काँग्रेसले जित निकाल्न सफल भएको थियो ।
तर उपचुनावमा काँग्रेसको बिजय यात्रामा ब्रेक लाग्ने संकेत देखिएको छ । पछिल्लो समय काँग्रेसलाई पुर्व नेता गोविन्दराज जोशी मात्र नभएर काँग्रेसकै पुर्व नेता स्वर्णिम वाग्ले मुख्य चुनौती बनेर उभिएका छन् गोविन्दराज जोशीको कारवाही फिर्ता गरिएको भन्दै अव उनको समर्थन प्राप्त हुने विश्वास काँग्रेसका उम्मेदबार गोविन्द भट्टराईलाई थियो । तर जोशीले काँग्रेससँगको वार्ता समाप्त भएको भन्दै काँग्रेसका उम्मेदबारलाई बिजय गराउन नसक्ने आशयको विज्ञप्ति जारी गरेपछि भट्टराईको आशामा चिसो पानी खन्याईए सरह भएको छ । जोशीको समर्थन रास्वपाका वाग्लेले पाउन सक्ने बुझिएको छ ।
त्यस्तै पछिल्ला दिनमा जोशी भन्दा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदबार स्वर्णिम वाग्ले काँग्रेसका भट्टराईको सबैभन्दा ठुलो चुनौती भएर उभिएका छन् । जति जति चुनावको दिन नजिकिँदै गयो, त्यती त्यती गाउँ–गाउँका काँग्रेसका मतदाता वाग्लेको पक्षमा उभिएका छन् । यसको दिन दिनैको रिर्पाेट भट्टराई समक्ष पनि पुगेको छ । उपचुनावमा भट्टराई पराजित भएपनि संसदमा नेपाली काँग्रेसको एक सिट घट्छ । त्यसैले जसरीपनि भट्टराईलाई बिजयी गराउन काँग्रेसका उपल्लो तहका नेताहरु तनहुँमा सक्रिय भएका छन् ।
भट्टराईको चुनावी प्रचार अभियानमा हिडेका काँग्रेसका एक जिल्ला नेताले गाउँ गाउँमा काँग्रेसका मतदाता रास्वपाका वाग्लेको पक्षमा खुल्न थालेको बताए । उनले यो चिन्ताको विषय भएको भन्दै मतदातालाई पुरानै अवस्थामा फर्काउन नसके चुनावमा काँग्रेस तेश्रो हुने सम्भावना देखिएको बताए ।
अन्तिम अस्त्रः चुनाव जितेर गएपछि मन्त्री बनाउँछौ
भट्टराईको पक्षमा माहौल बनाउन काँग्रेसका नेताहरुले मतदाता समक्ष अन्तिम अस्त्र फालेका छन्, त्यो हो– चुनाव जितेर गएपछि भट्टराईलाई मन्त्री बनाउँछौं । अहिले काँग्रेस सहितको गठबन्धनको सरकार भएको हुँदा त्यो अस्त्रले चुनाव जिताउन सकिने काँग्रेसका नेताहरुको विश्लेषण छ । चुनावी माहौल बिग्रदै गएपछि भट्टराईलाई मन्त्री बनाईने आवश्वासन मतदाता समक्ष फालिएको प्रष्ट बुझ्न सकिन्छ ।
काँग्रेसका पुर्व उपसभापती प्रकाशमान सिंहले बुधबार बन्दिपुरमा आयोजित एक कार्यक्रममा भट्टराईलाई चुनाव जिताएर पठाए मन्त्री बनाउने आश्वासन दिए ।
त्यस्तै केन्द्रिय सदस्य शंकर भण्डारीले पनि भट्टराईलाई मन्त्री बनाईने बताए । भट्टराई मन्त्री बनाउने कुरा प्रकाशमान सिंहको मुखबाट सुन्दा केही विश्वास गर्न सकिएपनि शंकर भण्डारीको मुखबाट सुन्दा भने कार्यकर्ताले नै पत्याएका छैनन् । हालै सरकार विस्तारको क्रममा भण्डारीले आफुलाई मन्त्री बनाउन पार्टी सभापती शेरबहादुर देउवालाई दवाव दिन तनहुँबाट काँग्रेसका दर्जनौं नेताहरुलाई काठमाडौं झिकाएका थिए । धेरै प्रयत्न गर्दा पनि वर्तमान सरकार मन्त्री बन्ने अवसर नपाएका भण्डारीले भट्टराईलाई मन्त्री बनाउने कुरा हास्याँस्पद भएको एक काँग्रेसका कार्यकर्ताले बताए । बरु भट्टराईले चुनाव जितेर गएमा मन्त्रि बन्ने आफ्नो अर्काे प्रतिश्पर्धी थपिनेमा भण्डारी चिन्तित छन् ।