देवघाट अनलाइन
दमौली, बैशाख २
नेपाली सेनाको ‘प्रथम ऐतिहासिक गोरखा देखि जितगढि पदयात्रा टोलीलाई शनिबार बिहान घिरिङमा भव्य स्वागत गरियो । सो पदयात्रा टोलीलाई वडा नम्बर ५ को देउरालीमा घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले स्वागत गरेका थिए ।
पृथ्वी नारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा गोर्खा देखि रुपन्देहीको जितगढि जाने क्रममा घिरिङको बाटो हुँदै पैदल यात्रा गरेको थिए । सोही स्मरणलाई सम्मान गर्दै पद यात्राको टोलीलाई स्वागत तथा सम्मान गरिएको अध्यक्ष थापाले बताए । नेपाल एकिकरणको ईतिहांसलाई पुनर्ताजगी गराउने र पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले नेपाली सेनाले ‘प्रथम ऐतिहासिक गोरखा देखि जितगढि पदयात्रा कार्यक्रम’ २०७९ आयोजना गरेको हो ।
नेपाल एकीकरणको दौरान प्रयोग भएका मार्गलाई समेटेर नेपाली सेनाले पदयात्रा शुरु गरेको हो । नेपालको राष्ट्रिय झण्डाको साथमा नेपाल एकिकरणको क्रममा स्थापना भएका ५ प्रथम कम्पनी (श्रीनाथ, कालिबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख) र जितगढी लडाईमा सहभागी गुरुबक्स गुल्मको झण्डा बोकेर बाजागाजा सहित सेनाको टोली यात्रामा निस्किएको हो ।
गोरखाबाट सुरु भएको सो पदयात्रा टोलीले तनहुँको सिमाना सतीघाटमा तनहुँको टोलीलाई झन्डा हस्तान्तरण गरेको थियो । त्यस्तै तनहुँको टोलीले केलादीघाट पुगेर पाल्पालाई र पाल्पाले नुवाकोटगढी पुगेर रुपेन्देहीलाई झन्डा हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । रुपन्देहीको टोलीले बैशाख ७ गते रुपन्देहीको जितगढी पु¥याएपछि यात्रा सम्पन्न हुने छ । बुटवल उपमहानगरपालिकाको सहकार्यमा नेपाली सेनाले पुननिर्माण गरेको ऐतिहासिक जितगढीमा बैशाख ७ गते प्रधान सेनापतीबाट बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेपछि गोरखा–जितगढी पदयात्रालाई समापन हुनेछ ।
पद यात्रामा गोरखाको रिपुमर्दन गण, तनहूँको भैरव दल गण, काली भञ्जन गण, राजदल गण, स्याङजाको समरजीत गुल्म, पाल्पाको दि फेमस महिन्द्र दल गण र रुपन्देहीको गरुड दल गण प्रत्यक्ष सहभागी हुने छन् । गोरखादेखि जितगढीसम्म करिव २०७ किलोमिटर दूरीको पदयात्रा हुने बताइएको छ ।
नेपाल एकीकरणको दौरान प्रयोग भएका पदमार्गको प्रचार प्रसार एवं संरक्षणका लागी पदयात्रा शुरु गरिएको हो । विगत पाँच बर्षदेखि नेपाली सेनाको अगुवाईमा गोरखा काठमाण्डौ एकीकरण मार्गमा पदयात्रा हुदै आएकोमा अवदेखी गोरखा–जितगढी यात्राले पनि हरेक बर्ष निरन्तरता पाउने छ ।