दमौली, जेठ २५
सरकारले बजेटमा विभेद गरेको भन्दै सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुले शिक्षा विकास तथा समन्वय इकाई तनहुँमा धर्ना दिएका छन् । कर्मचारीहरुको संस्था नेपाल विद्यालय कर्मचारी परिषदको आह्वानमा सम्पुर्ण विद्यालयका कर्मचारीहरुले कार्यालय परिसरमा धर्ना दिएका हुन् ।



लामो समयदेखी सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुले न्युन तलवमानमा काम गर्दै आएकोमा विद्यालय कर्मचारी परिषद राष्ट्रिय समितिले गरेको विभिन्न मितिका संघर्षका कार्यक्रमहरुको परिणाम स्वरुप सरकारले नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुको सेवा सुविधा लगायतका विषयलाई सम्बोधन गरिने उल्लेख गरेपनि बजेट बक्तव्यमा भने यस विषयमा कुनै सम्बोधन नभएको हुँदा बाध्य भएर धर्नामा बसेको नेपाल विद्यालय कर्मचारी परिषद तनहुँका अध्यक्ष रामबहादुर नेपालीले बताए । 
अध्यक्ष नेपालीले विद्यालयका कर्मचारीहरुलाई राज्यले विभेद गरेको हुँदा आफ्ना माग पुरा गराउन धर्नामा बस्नु परेको बताए । धर्नाको क्रममा विद्यालय कर्मचारीहरुले संघीय शिक्षा ऐन जारी गर्नु पर्ने, बजेटमा विद्यालयका कर्मचारीहरुलाई पुर्ण तलवमान कायम गर्नु पर्ने, विगतको फैसलाहरु कार्यान्वयन गर्नु पर्ने, मानवअधिकारको सम्मान गर्नु पर्ने लगायतका मागहरु प्रस्तुत गरेका थिए ।

सो धर्नालाई नेपाल शिक्षक महासंघ, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन लगायतका संघ संगठनले ऐक्यबद्धता जनाएका थिए । धर्नाको क्रममा नेपाल विद्यालय कर्मचारी परिषदले आफ्ना मागहरु शिक्षा विकास तथा समन्वय इकाईमा हस्तान्तरण गरेका थिए ।












