देवघाट, जेठ २६
देवघाट गाउँपालिकाले करार सेवाका कर्मचारीलाई नियम विपरित विभिन्न प्रकारका भत्ता दिएको सार्वजानिक भएको छ । महालेखा परिक्षकको कार्यालयले सार्वजानिक गरेको आर्थिक वर्ष ०७८÷७९को वार्षिक प्रतिबेदनमा करार सेवाका तथा ज्यालादारी कर्मचारीलाई नियम विपरित महंगी भत्ता र थप पाँच प्रतिशत कल्याणकारी कोषमा रकम थप गरेको उल्लेख गरिएको छ ।




सेवा करारमा कार्यरत स्विकृति दरबन्दीका कर्मचारीलाई सुरु तलब स्केल र कम्तीमा ६ महिना सेवा करार गरेमा एक महिनाको आधारभुत पारिश्रामिक बराबरको चाडपर्व र बर्षमा एक पटक चैतमा पोशाक भत्ता जस्ता सुविधा मात्रै दिन पाउनेमा देवघाट गाउँपालिकाले करार तथा ज्यालादारीका कर्मचारीलाई कल्याणकारी कोषमा तलब स्केलको ५ प्रतिशत र महंगी भत्तासमेत दिएको छ ।
करारका कर्मचारीलाई नियम विपरित अतिरिक्त सुविधा दिने गरि सम्झौता गर्ने पदाधिकारी तथा कर्मचारीलाई जिम्मेबार बनाई उक्त अतिरिक्त रकम असुल गर्नु पर्ने महालेखाको प्रतिबेदनमा उल्लेख छ ।
देवघाट गाउँपालिकाले छैठौं अधिकृत कृष्णराज पन्थ, त्रिशा शर्मा, सुचना प्रविधि अधिकृत विमल मल्ल, स्वकिय सचिव सनतबहादुर बोटे, का.स फुलमाया गुरुङ, का.स. अनुरुद्र काफ्ले, कासहरु शशिथापा मगर, सविता गुरुङ, झमबहादुर मगर, होमबहादुर भारती, दिपक थापा, शान्ती मग्राती, रिमबहादुर गुरुङ, गंगा रोकिम मगर, सरिता गुरुङ, बमबहादुर बरामु, चमेली आले, जंगबहादुर गुरुङ, खड्गबहादुर गुरुङ, यामकान्त शाही, हरिमाया गुरुङ, अहेव उमाचन्द्र, मिना दाहाल, महेन्द्रराज प्याकुरेल, अनमी वर्षा भाट, अन्जली थापा लापा, हेअ विष्णुबहादुर कमली, ल्या.अ सरस्वती रानामगर, नगरप्रहरी दिपककुमार थामा मगर, किसन भुजेल, दिपेश गुरुङ, प्रा.स चौथो नामित गुरुङ र विपना सुवेदीलाई नियम विपरित अतिरिक्त सुविधा दिएको महालेखा परिक्षकको कार्यालयको प्रतिबेदनमा उल्लेख छ ।
उनीहरुलाई अतिरिक्त भत्ता वापत एक वर्षमा ९ लाख ५४ हजार ७७२ रुपैयाँ उपलब्ध गराईएको छ । सो रकम सम्झौता गर्ने पदाधिकारी र कर्मचारीबाट असुल उपर गर्न महालेखाको प्रतिबेदनमा निर्देशन दिईएको छ ।












