दमौली, जेठ ३१
व्यास नपा–४ स्थित गुरुङ च्यानडाँडामा मंगलबार विहान बोेरामा पोको पारेर फालेको अवस्थामा शव भेटिएकी महिला व्यास नपा–४ निवासी २२ बर्षिया रंगिला भुजेल रहेको प्रहरीले जनाएको छ । उनको आफ्नै पतिले हत्या गरेर बोरामा पोको पारेर फालेको प्रहरीले जनाएको छ ।



मंगलबार बिहान ११ः३० बजे व्यास नगरपालिका–४ गुरुङ च्यानडाँडा स्थित सुवर्णमार्ग कच्ची सडकको कुनामा रहेको ढलको पानी जानको लागी बिछ्याईएको ह्युम पाइपमा प्लास्टिकको बोरा भित्र सडिगली दुर्गन्धित अवस्थामा शव फेला परेको थियो । शव फेलापरेपछि प्रहरीले गरेको अनुसन्धानमा उक्त शव रंगिला भुजेलको भएको पुष्टि भएको थियो । उनको आफ्नै पति भानु नगरपालिका वडा नम्बर ५ मैबल हटिया स्थायी घर भई हाल व्यास नगरपालिका वडा नम्बर ४ मा डेरा गरि बस्दै आएका २१ वर्षिय मनोज बिष्टले हत्या गरेको प्रहरीको प्राराम्भिक अनुसन्धानले पुष्टि गरेको छ ।
मनोजले रंगिलाको गत जेठ २६ गते राती हत्या गरेको प्रहरीसँग स्विकार गरेको बताईएको छ । उनीहरु विच गत बैशाख १ गते प्रेम विवहा भएको थियो । विवहापछि उनीहरु व्यास नपा–४ मा डेरा गरि बस्न थालेका थिए । हत्या हुनुमा घरायसी कारण नै मुख्य रहेको प्रहरीको भनाई छ ।
मनोजले रंगिलाको साथबाट दुई वटा सिमकार्ड फेला पारेको र यसबारेमा आफुलाई जानकारी नगराएको भन्ने निहुँमा रंगिलासँग झगडा गर्दै आएको बताईएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अवदेश विष्टले प्रराम्भिक अनुसन्धानमा घरायसी कारणले हत्या भएको देखिएपनि थप अनुसन्धान भईरहेको बताए ।
उक्त घटनाको अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालयका एसपी विष्टको नेतृत्वमा अनुसन्धान गरिएको थियो । घटनाको १२ घन्टामै निश्कर्षमा पुगेको प्रहरीले जनाएको छ । मृतकका वुवा मनबहादुर भुजेलले केही दिन अघि छोरी हराएको भन्दै जिल्ला प्रहरी कार्यालयमा निबेदन दिएका थिए । सोही आधारमा प्रहरीले शव माईती परिवारलाई देखाएपछि पहिचान भएको थियो ।
रंगिलाको हत्या गरी बोरामा पोकोपारी फाल्ने उनका पति बिष्टलाई प्रहरीले मंगलबार राती ९.४५ बजे व्यास नपा–३ स्थित तरकारी लाईनबाट पक्राउ गरेको थियो । प्रहरीले तनहुँ जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दा शिर्षकमा पाँच दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जनाएको छ । शवको मंगलबार नै दमौली अस्पतालमा पोष्टमार्टम गरि बुधबार माईती पक्षलाई जिम्मा लगाईएको छ ।












