काठमाडौं, असार १
कान्तिपुर मिडिया ग्रुपले श्रमजीवी पत्रकार र कर्मचारीहरुलाई जबरजस्ती रुपमा सेवामुक्त गरेकोमा प्रेस चौतारी नेपालले आपत्ती जनाएको छ । देशकै एउटा प्रतिष्ठित सञ्चारमाध्यमले श्रमजीवी पत्रकार र कर्मचारीलाई विभिन्न वहाना बनाएर सेवाबाट मुक्त गराउनु कुनै पनि मानेमा सैह्य र स्वीकार्य हुन नसक्ने प्रेस चौतारीले जनाएको छ ।



सञ्चार जगतलाई व्यवस्थित र मार्ग दर्शन गर्नुपर्ने संस्थाबाट नै श्रम ऐनको व्यवस्थालाई कुल्चिएर सञ्चारकर्मी पीडित हुनुले पत्रकारिता जगतलाई नै चिन्तत र दुःखित तुल्याएको प्रेस चौचारीले जनाएको छ ।
पत्रकार र कर्मचारीहरूको सेवा सुविधा बढाएर सञ्चार क्षेत्रको मानकका रुपमा प्रस्तुत हुनुको साटो उल्टै अमानवीय व्यवहार देखाउनुले जनप्रतिष्ठित संस्थाको नियतमाथि समेत प्रश्न उठेको भन्दै चौतारीले आर्थिक मन्दीको बहाना देखाउँदै पत्रकार र कर्मचारीको हकहित र अधिकार माथि जुन किसिमको प्रहार कान्तिपुर मिडियाबाट भएको छ यसले आम सञ्चारकर्मीको हक हितका लागि सशक्त रुपमा आवाज उठाउनु पर्ने बेला आएको जनाएको छ ।

प्रेस चौतारीका महासचिव हिरामान लामाले प्रकाशित गरेको विज्ञप्तिमा विगत लामो समयदेखि काम गर्दै आईरहेका स्थायी तथा करार, स्ट्रिन्जर पत्रकारको सम्झौता नवीकरण नगर्ने, कतिपयलाई स्ट्रिन्जर बस्न र केहीलाई राजीनामा दिन बाध्य बनाउन फोनमार्फत मानसिक पीडा दिने जस्ता निन्दनीय कार्य तत्काल रोक्न कान्तिपुर मिडिया ग्रुप समक्ष हाम्रो संगठन जोडदार माग गरिएको छ ।
श्रम ऐनको व्यवस्थालाई समेत कुल्चिएर सेवा सुविधा नदिई कुनै पनि पत्रकारलाई जबरजस्ती राजीनामा पत्र थमाउनु एक किसिमको अपराध को भन्दै विज्ञप्तिमा यस्ता कार्य तत्काल रोकी श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको ग्यारेन्टी गर्न, सरकारले तोकेबमोजिम सेवा सुविधा उपलब्ध गराउन कान्तिपुर मिडिया ग्रुप समक्ष आग्रह गरिएको छ ।
श्रमजीवी पत्रकारको हक हित र अधिकारलाई बेवास्ता गरे श्रमजीवीको पक्षमा जस्तोसुकै आन्दोलन गर्न पनि प्रेस चौतारी नेपाल तयार बाध्य हुने विज्ञप्तिमा जनाईएको छ ।












