दमौली, साउन १७
तनहुँको आँबुखैरेनी गाउँपालिका– ५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेमा रहेको झोलुङ्गे पूल पछिल्लो समय जिर्ण बन्न थालेको छ । नारायणगढ–मुग्लिन सडक खण्ड पहिरोका कारण समय समयमा अबरुद्ध हुन थालेपछि बुद्धसिं मार्ग हुँदै दैनिक सयौँको संख्यामा झोलुङ्गे पुलबाट मोटरसाइकल गुडायन थालेपछि उक्त पूल कमजोर बन्दै गएको हो ।



उक्त पुल भएर आउँदा मुग्लिन–नारयणगढ सडकको पहिरो पनि छल्न पाईने र दमौली आउँन २६ किलोमिटर छोटो दुरी पर्ने भएपछि मोटरसाईकल चालकहरुको रोजाईमा उक्त सडक पर्न थालेको हो । उक्त सडक र झोलुङ्गे पुल हुँदै दैनिक सयौंको संख्यामा मोटरसाईकल गुडाउन थालेपिछ उक्त पुल कमजोर बन्दै गएको हो ।

उक्त पुल मर्मतको लागि स्थानयि बासिन्दाले पटक–पटक सम्बन्धित सरोकारवालालाई आग्रह गरेपनि कुनै सुनुवाई नभएको स्थानियले बताएका छ्न । २०४७ सालमा निर्माण भएको उक्त पुल जिर्ण र कमजोर बन्न थालेपछि मोटरसाईकल गुडाउन रोक लगाउन स्थानिय बासिन्दाले माग गरेका छन् । त्यस क्षेत्रका बासिन्दालाई मुग्लिन–नारयणगढ सडकमा निस्कने उक्त एक मात्र पुल लापरवाहीको कारण दुर्घटनामा परेमा त्यसक्षेत्रका बासिन्दा चितवनको नारयणगढ, मुग्लिन तथा काठमाडौं आउन जान समस्या हुन्छ ।
दैनिक सयौं मोटरसाईकल गुडाउन थालेपछि पुल कमजोर बन्न थालेको घुमाउनेकी स्थानिय स्यानुमाया थापाले बताइन् । मोटरसाइकल नगुडाउनको लागि आफुहरुले आग्रह गरेपनि कसैले नसुनेको थापाले बताइन् । स्थानियलाई त्रिशुली नदि वारपार गर्न सहजताको लागि निर्माण गरिएको पुलमा क्षमता भन्दा बढी संख्यामा मोटरसाइकल ओहोरदोहोर गर्दा पुल जोखिम बनेको हो । दमौलीबाट बुद्धसिंह मार्ग हुँदै घुमाउने निस्किने छोटो बाटो भएको कारणले मानिसहरु पुलमा मोटरसाइकल दौडाउने कारणले पनि पुल जिर्ण भएको आँबुखैरनी–५ का स्थानिय अमर राना मगरले बताए ।
आँबुखैरेनी–६ का निवर्तमान वडाध्यक्ष सुनाराम गुरुङले गाउँपालिका, प्रदेश सरकार लगायतका सरोकारवालाहरुलाई पूल मर्मतको आग्रह गरेपनि कुनै सुनुवाई नभएको बताए । निर्माण गरेको तीन दशक वितिसकेको र पुण जिर्ण भइसकेको त्यसमा पनि ओझरलोडले समस्या भइरहेको उनको भनाई छ । पुलको अधिकांश नटबुल्टहरु समेत फुत्किएको अवस्था छ भने मानिसहरु हिडडुल गर्दा समेत पुल अत्याधिक हल्लिने गरेको छ । त्यस्तै विभिन्न स्थानमा कुचिने तथा भत्किने समेत समस्या छ ।












