देवघाट, साउन १७
देवघाट गाउँपालिका–५ साँढेबगरमा स्थानीय एक व्यक्तिको घरको सौचालयको छानामा बन्यजन्तुको अवैध हाडखोर लुकाएर राखेको सुचनाको आधारमा प्रहरीले छापा मार्दा स्थानीय बासिन्दासँग झडप भएको छ । सो क्रममा स्थिती नियन्त्रणमा लिन प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको छ ।



स्थानीय टकबहादुर गुरुङको घरको टिनले छाएको सौचालयको छानामा स्याउलाले छोपेर झोला लुकाएर राखेको र उक्त झोलामा गैंडाको खाग सहित बन्यजन्तुको हाँड रहेको भनि इलाका प्रहरी कार्यालय देवघाटमा मौखिक सुचना आएपछि इलाका वन कार्यालय मार्फत प्रहरीमा सुचना गएको थियो ।

उक्त झोला खोज्न प्रहरी विहिबार साँझ नै साँढेबगर गएकोमा प्रहरीको संख्या कम भएपछि विहिबार त्यसै फर्किएको थियो । शुक्रबार विहान करिब ९ बजे ठुलो संख्यामा प्रहरी सहित उक्त झोला बरामद गर्न गएको प्रहरी टोलीसँग स्थानीय बासिन्दाको झडप भएको थियो । प्रहरीले उक्त झोला बरामद गरेर गाडीमा हालेर प्रहरी चौकीमा ल्याउने क्रममा स्थानीय बासिन्दाले गाडीलाई घेरा हालेर उक्त झोलामा भएको बस्तु देखाउनु पर्ने माग गरेका थिए ।

पछि स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा उक्त झोला खोलेर हेर्दा गैंडाको खागको आकारको काठको टुक्रा भेटिएको थियो । इलाका प्रहरी कार्यालय देवघाटका प्रमुख प्रहरी बरिष्ठ नायव निरिक्षक कृष्णबहादुर बानियाँले वन कार्यालय मार्फत सुचना आएपछि उक्त सामान खोज्न प्रहरी परिचालन गरिएको बताए । उनले उक्त झोलामा गैंडाको खाग जस्तो आकारको काठको टुक्रा बरामद भएको बताए । पछि स्थानीय र प्रहरीको सहमतिमा मिलापत्र भएको थियो ।













