प्रहरीका असईले स्थानीय बासिन्दालाई फँसाउन खोज्दा…..

Devghat Online

शेयर गरौ

देवघाट, साउन १७

देवघाट गाउँपालिका–५ साँढेबगरका टकबहादुर गुरुङको घरबाट शुक्रबार विहान बरामद गरिएको झोला इलाका प्रहरी कार्यालय देवघाटका असई बोजनारयण श्रेष्ठले राखेको खुलेको छ । टकबहादुरका छोरा बुद्धसिंह गुरुङ एक महिना अघि बैदेशिक रोजगारीबाट घर फर्किएका थिए । असई श्रेष्ठले उनै बुद्धसिंहलाई मुद्धामा फसाउन उक्त झोला राखेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।

प्रहरीले टकबहादुरको घर भित्र पसेर खानतलासी गर्दा केही सामान फेला नपरेपछि टकबहादुरको सौचालयको छानाबाट झोला बरामद गरेको थियो । सो झोला सौचालयको छानामा स्याउलाले छोपेर राखिएको थियो । प्रहरीले उक्त झोला त्यही नखोलेर प्रहरी चौकीमा लैजान खोज्दा गाउँलेहरुले घेराहालेर झोला खोलेर सामान देखाउन दवाव दिएका थिए । पछि उक्त झोला खोलेर हेर्दा गैंडाको खागको आकारको काठको टुक्रा भेटिएको थियो ।

इलाका प्रहरी कार्यालय देवघाटका असई श्रेष्ठले आफैले उक्त झोला सौचालयको छानामा राखेको स्थानीय भिम गुरुङले आरोप लगाए । असई श्रेष्ठ उक्त घर भित्र बाहिर आउने जाने गरेको आफुले देखेपछि उनको नियत ठिक नलागेर आफुले निगरानी गर्दा असई श्रेष्ठले सौचालयको छानामा झोला लुकाएको आफुले देखेको गुरुङले बताए ।

स्थानीय राजु गुरुङले असई श्रेष्ठले निर्दाेष व्यक्तिलाई फसाउनको लागि उक्त काम गरेको आरोप लगाए । इप्रका देवघाटका असई केही दिन अघि देखि उक्त स्थानमा आउ जाउ गर्दै आएका थिए । उनी बिनाबर्दीमा गाउँमा डुली दादागिरी शैलीमा हिडि गाउँलेहरुलाई त्रसित गराउँदै आएको स्थानीय ओम गुरुङलेले बताए ।

असई श्रेष्ठले उक्त झोला राखेको आरोपमा आक्रोसित स्थानीय बासिन्दाले प्रहरीको घेराबाट उनलाई थुतेर निर्घात कुटपिट समेत गरेका थिए । सो क्रममा उनलाई बचाउन प्रहरीले हवाई फायर गरेको थियो । इप्रका देवघाटका इन्चार्ज प्रहरी बरिष्ठ सई कृष्णबहादुर बानियाले असई श्रेष्ठले नै उक्त झोला राखेको स्थानीय बासिन्दाले आरोप लगाएको बताए । उनले यसबारेमा छानविन गरिने बताए ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू