देवघाट, साउन २०
तनहूँको देवघाट गाउँपालिका–५ का बासिन्दाले सर्वसाधरणलाई झुठा मुद्धामा फसाउन खोज्ने इलाका प्रहरी कार्यालय देवघाटका असई बोझनारयण श्रेष्ठलाई कारवाहीको माग गरेका छन् । देवघाटका बासिन्दाले शनिबार नारा जुलुस सहित इलाका प्रहरी कार्यालय देवघाट घेराउ गरि असई श्रेष्ठलाई कारवाही गर्नु पर्ने माग गरेका हुन् ।
साँढेबगरका बुद्धसिंह गुरुङको घरमा गैंडाको खाग लुकाएर राखेको सुचना प्राप्त भएको भन्दै शुक्रबार ठुलो संख्यामा प्रहरीले उक्त घर घेराहाली झोला बरामद गरेको थियो । सो झोला भित्र गैंडाको खाग रहेको भन्दै प्रहरीले बुद्धसिंह गुरुङले उक्त सामान लुकाएर राखेको आरोप लगाएको थियो । स्थानीय बासिन्दाको दवावमा प्रहरीले सो झोला घटनास्थलमै खोलेर हेर्दा गैंडाको खागको आकारको काठको टुक्रा भेटिएको थियो ।
सो झोला असई श्रेष्ठले नै ल्याएर राखेको स्थानीय भिम गुरुङले बताउनु भयो । असई श्रेष्ठ पटक पटक उक्त घर भित्र बाहिर आउने जाने गरेको आफुले देखेपछि उनको नियत ठिक नलागेर निगरानी गर्दा श्रेष्ठले सौचालयको छानामा झोला लुकाएको आफुले देखेको गुरुङले बताए ।
झोलामा गैंडाको खाग भेटिएको भन्दै बुद्धसिंहलाई झुठा मुद्धामा फसाएर जेलमा हाल्ने षड्यन्त्र स्वरुप असई श्रेष्ठले नै उक्त झोला राखेको गुरुङको भनाई छ । यही विषयमा शुक्रबार स्थानीय बासिन्दा र प्रहरी विच साँढेबगरमा पटक–पटक झडप समेत भएको थियो । सो क्रममा प्रहरीले पाँच राउन्ड हवाई फायर गरेको थियो ।
उक्त घटना नियन्त्रणमा लिन जिल्ला प्रहरी कार्यालय तनहुँ, इलाका प्रहरी कार्यालय तनहुँ, मनकामना शसस्त्र प्रहरी गण भानु, जिल्ला प्रहरी कार्यालय चितवन र इलाका प्रहरी कार्यालय गैंडाकोटबाट ठुलो संख्यामा प्रहरी ल्याई परिचालन गरिएको थियो ।
प्रहरी अधिकृतकै नेतृत्वमा निर्दाेष सर्वसाधरणलाई झुठा मुद्धामा फसाउन खोजेको भन्दै उक्त घटनाका दोषी प्रहरी सहायक निरिक्षक श्रेष्ठलाई कारवाहीको माग गर्दै शनिबार सयौंको संख्यामा देवघाटबासीले इलाका प्रहरी कार्यालय घेराउ र नाराबाजी गरेका थिए ।
नेकपा एमाले देवघाट गाउँ कमिटिका अध्यक्ष केशवचन्द्र न्यौपानेले प्रहरी अधिकृतकै नेतृत्वमा सर्वसाधरणलाई बन्यजन्तको हाँडखोर तस्करीको झुठा मुद्धामा फसाउन खोज्ने दुखद भएको बताए । उनले यस घटनाको सत्यतथ्य छानविन गर्नु पर्ने र दोषी असई श्रेष्ठलाई कानुनी कारवाही गर्नु पर्ने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका सभापती बलबहादुर क्षेत्रीले प्रहरीकै संलग्नतामा षड्यन्त्र गरेर सर्वधारणलाई फसाउन खोज्ने कार्य आपत्तीजनक भएको बताए । उनले यो घटनाको निश्पक्ष अनुसन्धान हुनु पर्ने बताए ।
इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी बरिष्ठ सई कृष्णबहादुर बानियाँले असई श्रेष्ठले नै उक्त झोला राखेको स्थानीय बासिन्दाले आरोप लगाएको बताए । उनले यस घटनाको बरेमा छानविन गरिने र दोषी देखिएमा असई श्रेष्ठलाई कारवाही हुने बताए ।