डुम्रे, असोज २४
भानु नगरपालिकाले चुँदीखोलामा माछाको भुरा छाडेको छ । कृषि तथा पशुपंक्षी शाखाको वार्षिक कार्यक्रम अनुसार चुँदीखोलाको विभिन्न ठाउँमा १२ हजार माछाका भुरा छाडिएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । नगरपालिकालाई जलचर प्रकृतिमैत्री बनाई स्थानीयको आम्दानीमा समेत सहयोग पु¥याउने उदेश्यका साथ खोलामा माछाको भूरा छाडिएको नगर प्रमुख त्रिपाठीले बताए ।



नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले उक्त चुँदीखोलामा एक महिना खोलामा माछा मार्न नपाउने गरी बन्देज लगाईएको बताए । छाडिएको भुरालाई नयाँ ठाउँमा घुलमिल हुन करिब महिना दिन लाग्नेहुँदा एक महिना खोलामा माछा मार्न नपाउने गरी बन्देज लगाईएको उनले बताए । साथै उक्त सुचनालाई अटेर गरेको पाईएमा चलचर संरक्षण ऐन अनुसार कारबाही गरिने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
चुँदीखोलाको ३ ठाउँमा माछाका भुरा छोडिएको छ । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, नेपाली सेनाको रुरु भैरव दल गणका गणपति प्रमुख सेनानी हिमाचल जङ शाह, नगरपालिकाको कृषि तथा पशु शाखाका कर्मचारीहरु लगाएतको सहभागिता रहेको प्रमुख प्रशासकीय अधिकृत पौडेलले जानकारी दिए ।












