नारायणगढ–मुग्लिन सडक थप तीन साता बन्द हुने

शेयर गरौ

चितवन, पुस २५-

नारायणगढ-मुग्लिन सडकखण्ड थप तीन साता बन्द गरिने भएको छ । सो सडक खण्डको तुइन खोलामा पुल बनाउन ढिस्को भत्काउने काम नसकिएपछि पुनः तीन साता दिउँसोको समयमा सडक बन्द गरेर काम गर्न लागिएको हो ।

यही पुस ७ गतेदेखि तीन साताका लागि दिउँसो चार घण्टा सडक बन्द गरेर काम गरिँदै आएको छ । आउँदो शनिबार पहिलो तीन साताको समय सकिँदै छ । प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले निर्माण कम्पनीले थप एक महिनाको समय माग गरेको भए पनि तीन साताका लागि मात्र सडक बन्द गरेर काम गर्न दिन लागिएको बताउनुभयो । उहाँका अनुसार बिहीबार सुरक्षा समितिको बैठकमा थप तीन साता सडक बन्द गरेर काम गर्ने अनुमति दिन लागिएको छ । सो ढिस्को विस्फोट गरेर भत्काउने तयारी गरिएको थियो । विस्फोट गर्दा त्यहाँ पुलसमेत जोखिममा पर्ने भएकाले अन्तिम प्रयासका रुपमा भत्काउन आग्रह गरेअनुरुप काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “अत्यावश्यक सवारी साधन छाड्नुपर्ने हुँदा दिनमा चार घण्टा भनिए पनि दुई÷तीन घण्टा राम्रो गरी काम भएको छ ।” यथाशीघ्र छिटो काम सक्न भनिएको उहाँले बताउनुभयो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यका अनुसार हालसम्म १४ मिटर ढिस्को भत्काइसकिएको छ । त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटरमध्ये आधा ढिस्को शनिबारसम्म भत्काइसक्ने अनुमान छ । गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । यस वर्ष ३८ टनको ब्रेकर प्रयोग गरेर भत्काउन सुरु गरेपछि कामले गति लिएको उहाँले जानकारी दिनुभयो । आवश्यक परेको ठाउँमा चट्टानलाई चिरा पार्ने रक स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर काम गरिएको छ । गत साल २२ टनको ब्रेकर मात्र प्रयोग गरिएको थियो ।

आचार्यले कामको गतिलाई हेरेर आफूहरु उत्साहित भएको बताउनुभयो । गत वर्ष भत्काउने क्रममा सुरुमा १५ मिटर सहजै भत्काउन सकिएको थियो । त्यसपछिको १० मिटर भत्काउन ४५ दिन लागेको उहाँले जानकारी दिनुभयो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको थियो । बाँकी १५ पुल एकै साथ ठेक्का लगाइएको थियो ।

विसं २०७६ चैत १० गतेबाट पुलको निर्माण थालिएको हो । पुलको लागत रु एक अर्ब २८ करोड छ । अनक कन्स्ट्रक्सनले पुलको ठेक्का पाएको थियो । यो राजमार्गलाई एसियाली विकास बैङ्क (एडिबी) -को सहयोगमा एसियन मापदण्डअनुसार बनाइएको हो । पुल ११ मिटर चौडा छन् । सडक विस्तार गरेसँगै नौदेखि ११ मिटर फराकिलो बनेको छ । राजधानी बाहिरिने र भित्रने प्रमुख सडकका रुपमा यो सडक रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको