दमौली, माघ ५
पूर्व विद्यार्थी निर्मल मावि २०४५ एसएलसी समूहको समन्वयमा व्यास नपा–१२ स्थित मत्स्यकन्या आधारभुत विद्यालयका १४५ जना विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा समुहका अध्यक्ष त्रिभुवन श्रेष्ठ लगायत पदाधिकारीले विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेका थिए ।



व्यास नपा–३ सफासडक घर भई हाल अष्ट्रेलिया निवासी राजेन्द्र कुमार श्रेष्ठ र पुजा श्रेष्ठबाट ५८ हजार रुपैयाँ बराबरको न्यानो कपडा स्वेटर प्राप्त भएकोले पूर्व विद्यार्थीको समूह मार्फत ति विद्यार्थीहरुलाई वितरण गरिएको समुहका अध्यक्ष त्रिभुवन श्रेष्ठले बताए । सो कार्यक्रममा सहयोगदाताका अभिभावकहरुले पनि विद्यार्थीहरुलाई उक्त कपडा वितरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मुक्त बहादुर भुजेलको अध्यक्षतामा भएको सो कार्यक्रममा सहयोगदाताको तर्कबाट मन कुमार श्रेष्ठले सहयोग गर्न पाउादा खुशी लागेको र भविष्मा पनि यस्तो अवसर पाएमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो कार्यक्रममा विद्यालयकी प्रअ सुनिता देवकोटाले विद्यालयमा भौतिक संरचना, खानेपानी, शौचालय र जग्गा समेत अभाव भई विद्यालय सुधारमा समस्या परेको बताउंदै सम्बन्धित निकायको ध्यानाकर्षण गराई दिन अनुरोध गरिन् ।

समूहका अध्यक्ष त्रिभुवन श्रेष्ठले आफ्नो समूहले साथीहरुबाट सङ्कलित रकमबाट कोभिडमा निःशुल्क खाना, दिर्घ रोगबाट पिडीतलाई आर्थिक सहयोग, कृयापुत्री बसेको घरमा खाद्यान्न सहयोग, मिर्गौला डायलासिस केन्द्र दमौलीमा स्वास्थ्य सामाग्री सहयोग, सिद्देश्वरी मावि कमलबारीमा न्यानो कपडा वितरण कार्यक्रम गरी सकेको र आफूहरुले अध्ययन गरेको निर्मल मावि व्यास–१ मा छात्रवृत्ति अक्षय कोष स्थापना गर्ने जानकारी दिदैं यस विद्यालयमा पनि अक्षय कोषका लागि समूहका साथीहरुसंग कुराकानी भई राखेको हुँदा उपयुक्त समयमा सो काम अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले छाडेर काम सारा एक काम रोजीरहेछु, यो देशमा म एउटा मानिस खोजिरहेछु भन्ने शिशिर योगीले खोजेको मानिस बन्न नसके पनि प्रयास अवश्य गर्ने भन्दै प्रयास स्वरुप सामाजिक उत्तरदायित्व बहन गर्ने प्रतिबद्धता जनाए । सो कार्यक्रममा विद्यालयका पूर्व शिक्षक एवं समूहका सह–सचिव अशोक पन्थले स्थानीय सरकारको ध्यान पुग्न नसकेको र नगरपालिकाले शैक्षिक सुधारको लागि सहयोग गर्नुपर्ने बताए ।
शिक्षक पृथ्वी भुजेलले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष मुक्त बहादुर भुजेलले सहयोगदाता र सहयोग समन्वय गर्ने भगवानको रुपमा प्रकट हुनु भएको भन्दै खुशी व्यक्त गर्दै धन्यबाद ज्ञापन गरे ।












