देवघाट । चैत १६
देवघाट गाउँपालिकामा स्नातक तहको क्याम्पस सनचालनको लागि कालिका माविका पुर्व विद्यार्थीहरुले सहयोग गर्ने भएका छन् । पुर्व विद्यार्थीहरुको शुक्रबार भएको भेलाले क्याम्पस सन्चालनकोलागि आर्थिक सहयोग संकलन गर्ने निर्णय गरेको हो ।
क्याम्पस सन्चालनकोलागि आर्थिक अभाव भएको हुँदा कालिका माविका पुर्व विद्यार्थीहरुले विद्यालयका पुर्व विद्यार्थीहरुलाई समन्वय गरि आर्थिक संकलन गर्ने पुर्व विद्यार्थी मन्चका अध्यक्ष विकास ढकालले बताए ।



विद्यालयका २०७३ सालदेखि २०७७ सालसम्मको विद्यार्थीलाई जुटाएर ती विद्यार्थीहरु सँग आर्थिक संकलन गर्ने जिम्मेबारी विष्णु वहादुर सिन्जाली र सन्दिप रिमालले लिएका छन् भने २०६७ देखि २०७२ साल सम्मको जिम्मेवारी सागर बोटे र आशिष देवकोटाले लिएका छन् । त्यसैगरि २०६१ देखि २०६६ साल सम्मको जिम्मेवारी निरञ्जन न्यौपाने, विकास न्यौपानेले र हरिमाया शिवाकोटीले लिएको अध्यक्ष ढकालले बताए ।
देवघाट गाउँपालिकामा एउटा पनि स्नातक तहको क्याम्पस नहुँदा कक्षा १२ उत्तिर्ण गरेपछि विद्यार्थीहरु चितवनको भरतपुर तथा नवलपुरको गैंडाकोट जानुपर्ने बाध्यता रहेको हुँदा क्याम्पस स्थापनाको पहल थालिएको छ । कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा क्याम्पस सन्चालनकोलागि सम्भाव्यता अध्ययन समिति गठन गरिएको थियो । उक्त समितिले विभिन्न पक्षसँग छलफल र अन्तरक्रिया गरि देवघाटमा आगामी शैक्षिक सत्रबाट स्नातक तहको क्याम्पस सन्चालन गर्ने निश्कर्षमा पुगिएको संयोजक श्रेष्ठले बताए ।
पुर्व विद्यार्थीहरुले बैंकमा खाता सन्चालन गरि आर्थिक संकलन गर्ने पुर्व विद्यार्थी मन्चका अध्यक्ष ढकालले बताए । क्याम्पस सन्चालन गर्न धेरै रकम आवश्यक पर्ने हुँदा आर्थिक संकलन कार्यमा सबैले साथ दिनुपर्ने श्रेष्ठले बताए । हालसम्मको अनुमान अनुसार क्याम्पस सन्चालनकोलागि पहिलो चरणमा ४० लाख खर्च हुने श्रेष्ठले बताए ।
पुर्व विद्यार्थीहरुले आर्थिक सहयोग जुटाउने कार्यको लागि शुक्रबार राखेको बैठकमा पुर्व विद्यार्थी मन्चका अध्यक्ष बिकास ढकाल, उपाध्यक्ष निरञ्जन न्यौपाने, सचिव बिकास न्यौपाने सह सचिव ऋषिराम सुवेदी सदस्य विष्णु वहादुर सिन्जाली, सन्दिप रिमाल, क्याम्पस सन्चालन सम्बन्धि सम्भाव्यता अध्ययन समितिका संयोजक डा सुरेन्द्रप्रसाद श्रेष्ठ, कालिका माविका प्रअ शरदचन्द्र खनाल लगायतको उपस्थिति रहेको थियो ।












