चितवन । चैत १६
चितवनमा पहिलो पटक महिला मोटर र्याली आयोजना हुने भएको छ । बागमती प्रदेश अटोमोवाइल्स एसोसिएसनको आयोजना तथा विभिन्न संघसंस्थाको सहकार्यमा यहि चैत्र २५ गते हुने उक्त र्याली महिला सशक्तिकरण, ड्राइभ टुरिजम र साहसिक खेलकुद प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो।
नेपालमा मोटर स्पोर्ट्सको विकास गर्दै महिलाहरूलाई यो क्षेत्रमा उत्साहित बनाउन तथा सुरक्षित र व्यवस्थित ड्राइभिङ संस्कृतिलाई प्रवर्द्धन गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। भरतपुर–मेघौली–गोलाघाट–जगतपुर–पटिहानी–सौराहा मार्गहुँदै सञ्चालन गरिने यो प्रतियोगिता स्पेशल स्टेज र्यालीको स्वरूपमा हुनेछ, जसमा प्रतिस्पर्धीहरूले तोकिएको समयसीमाभित्र विभिन्न चेकपोइन्टहरू पार गर्दै गन्तव्यसम्म पुग्नुपर्नेछ।



प्रतियोगितामा नेपालभरका इच्छुक ३० वटा गाडी र ५० जना महिला चालक सहभागी हुनेछन्। इच्छुक महिलाहरूले अनलाइन फारम भरी नाम दर्ता गर्नुपर्नेछ, जसका लागि नासा नेपालबाट जारी स्पोर्ट्स लाइसेन्स आवश्यक हुनेछ। सहभागी महिला चालकहरूलाई सुरक्षित ड्राइभिङ, रेसिङ नियम तथा सडक सुरक्षासम्बन्धी विशेष प्रशिक्षण समेत प्रदान गरिनेछ।
प्रतियोगिताका विजेताहरूलाई शिल्ड, प्रमाणपत्र प्रदान गरिनेछ भने उत्कृष्ट प्रदर्शन गर्ने २ जना महिला चालकलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर दिइनेछ। प्रतियोगितामा ड्राइभर, नेभिगेटर, मार्शल, मेकानिक, मेडिकल टोली लगायत १०० भन्दा बढी व्यक्ति प्रत्यक्ष रूपमा संलग्न हुनेछन्। उक्तप्रतियोगिताको उद्घाटन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल ले गर्नेछिन्। करिब ११ लाख ६० हजार रुपैयाँको बजेट अनुमान गरिएको यो कार्यक्रम स्थानीय उद्यमी, व्यवसायी तथा दर्ता शुल्कबाट व्यवस्थापन गरिनेछ। साथै, भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, चितवन अटोमोबाइल्स डिलर एसोसिएसन, बागमती खेलकुद विकास परिषद, राष्ट्रिय खेलकुद परिषद, रेवान सौराहा लगायतका संघसंस्थाहरूको सहकार्यमा प्रतियोगिता सम्पन्न हुनेछ।
प्रतियोगिताको महत्वबारे बोल्दै बाग्मती प्रदेश अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष राजन पियाले महिला मोटर र्याली हाम्रो समाजमा महिलाहरूको आत्मविश्वास अभिवृद्धि गर्न तथा उनीहरूलाई मोटरस्पोर्ट्समा आकर्षित गर्न एउटा महत्वपूर्ण प्रयास भएको बताए । नेपालमा मोटरस्पोर्ट्सको विकाससँगै सुरक्षित र व्यवस्थित ड्राइभिङ संस्कृतिलाई प्रवर्द्धन गर्न पनि यो प्रतियोगिता उपयोगी बन्ने र सहभागी महिलाहरूले यो प्रतिस्पर्धाबाट नयाँ अनुभव प्राप्त गर्ने भन्दै पियाले यसले उनीहरूलाई पेशागत रूपमा अघि बढ्न सहयोग पुर्याउने बताए ।
त्यसैगरी, नेपाल अटोमोबाइल मेकानिकल महासंघका केन्द्रीय अध्यक्ष गोपाल भट्टराईले यो प्रतियोगिता महिला सशक्तिकरणको सन्देश दिनका साथै नेपालमा मोटरस्पोर्ट्स र अटोमोबाइल क्षेत्रको सम्भावनालाई उजागर गर्ने उत्कृष्ट अवसर भएको बताए। प्रतियोगिताले नेपालका महिला चालकहरूलाई आत्मनिर्भर र दक्ष बनाउन मद्दत गर्ने विश्वास लिएको भट्टराईले बताए ।
उक्त कार्यक्रम बारे जानकारी दिन आईतवार आयोजित पत्रकार सम्मेलनमा सो कार्यक्रमले महिला सशक्तिकरण, पर्यटन प्रवर्द्धन र खेलकुद विकासमा योगदान पुर्याउने विश्वास लिईएको आयोजकले बताएको छ ।












